काभ्रे,
देशका विभिन्न ठाउँमा परेको वर्षाले काठमाण्डौसहित मुख्य शहरमा यसअघि उच्च रहेको प्रदुषण घटेको छ । अघिल्लो महिना फागुनमा काठमाण्डौ विश्वकै प्रदूषित शहरको शीर्ष पाँचमा पर्दै आएकोमा पानी परेपछि प्रदूषण घटेको छ । आज बिहान काठमाण्डौ विश्वको १६ औँ स्थानमा छ । काठमाण्डौमा हावाको गुणस्तरमापन सुचक एक्यूआई बिहान ८८ रहेको छ । त्यस्तै अहिले वन डढेलो बढ्ने बेला पानी परेपछि डढेलो रोकिएको छ ।
चिस्यानको अभाव झेलिरहेको बेला चैत पहिलो हप्ता देशका धेरै ठाउँमा पानी परेपछि किसानलाई पनि राहत पुगेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा परेको बाक्लो हिमपातले जनजीवन केही प्रभावित भए पनि यसले बालीमा भने चिस्यान थपेको छ । कृषिबालीमा पर्याप्त पानी पुगेपछि अबको उत्पादनमा सुधार हुने किसानको अपेक्षा छ । हिमाली क्षेत्रमा विशेषगरी रैथाने उवा, जौँ, गहुँ, अलैचीँ उत्पादन हुने गर्छ । अनुकूल समयमा परेको हिउँले अन्नबाली र फलफूलखेतीमा लाग्ने विभिन्न रोग कीराको सङ्क्रमणलाई न्यूनीकरण गर्ने भएकाले हिउँ अन्नबाली र फलफूल उत्पादनका लागि बरदान भएको किसानले बताएका छन् ।














