काभ्रे,
काभ्रे जिल्लाको बेथान्चोक गाउँपालिकाले आइतबार पनि कक्षा सञ्चालन गर्नेे निर्णय गरेको छ । आज पालिकामा आयोजित शैक्षिक गुणस्तर सम्वन्धी अन्र्तक्रिया कार्यक्रममा गुणस्तरीय शिक्षा प्रदान गर्न भन्दै यस्तो निर्णय गरीएको हो । यसअघि चैत २२ गते आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
गाउँपालिकाले विद्यालय शिक्षालाई थप व्यवस्थित र नतिजामुखी बनाउने लक्ष्यसहित केही विशेष निर्णयहरू गरेको छ । पालिकाले गुणस्तरीय शिक्षा अभियानअन्तर्गत पालिकाभरिका सबै शिक्षकहरूसँग विशेष कार्यक्रम सम्पन्न गर्दै आगामी शैक्षिक सत्रका लागि नयाँ कार्ययोजना अघि सारेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताउनुभयो ।
आइतबार पालिकाभित्रका सबै विद्यालयहरुमा शिक्षण सिकाइका लागि प्रयोग गरिनेछ । त्यसैगरी, पालिका भित्रका सबै विद्यालय वैशाख १३ गतेदेखि नियमित रूपमा सञ्चालन गरीने निर्णय गरिएको छ । विद्यालय खुलेसँगै सबै शिक्षकहरूले पाठ योजना (लेसन प्लान) तयार गरी त्यसकै आधारमा शिक्षण कार्य सुरु गर्ने व्यवस्था मिलाइनेछ । पालिकाले विद्यार्थीलाई व्यवहारिक र जीवनोपयोगी शिक्षा दिन सीपमूलक शिक्षामा विशेष जोड दिएको जनाएको छ । यसका लागि सबै शिक्षकहरूले साझा प्रयास गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा शिक्षाविद्हरु प्रा.डा.विद्यानाथ कोईराला, डा.हरि लम्साल, डा.बलराम तिमल्सिना, गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, वडा अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।











