काठमाडौं/ नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनका लागि जेनजी अगुवाहरुको राय सुझाव लिनुहुने भएका छन् । कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्नको लागी गठित समितिले उक्त कार्यक्रम आयोजना गरेको हो । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा १८ जना जेनजी अगुवाहरुलाई पत्र पठाएर आमन्त्रण गरिएको कांग्रेसले जानकारी गराएको छ । उक्त कार्यक्रममा संविधानविद् तेजमान श्रेष्ठ, प्राध्यापक डा. खनाल लगायत सहभागी हुने भएका छन्। सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न विभिन्न पक्षसँग छलफल गरिरहँदा कांग्रेसले छुट्टै तयारी गरिरहेको छ ।
उपसभापति पुष्पा भुसालको संयोजकत्वमा कार्यदल बनाएर संविधान संशोधनको लागि सुझाव संकलन गरिएको छ। ‘संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समिति’ को सदस्यहरुमा वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू सदस्य छन् । उक्त समितिले दुई चरणको छलफल गरिसकेको छ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको कार्यदलले जेनजी अगुवाहरुको संविधान संशोधनमा राय संकलन गर्न बोलाए पनि उनीहरूले बहिष्कार गरेका थिए ।













