काभ्रे,
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम कार्यक्रम सम्पन्न भएको छ । ‘सिप सिकौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित आयोजना गरिएको उक्त तालिम जेठ २६ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको थियो । ग्रामीण क्षेत्रमा आयआर्जनका अवसर विस्तार गर्दै स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउने उद्देश्यले अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवारका सदस्यहरू १५ जना सहभागीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । उनीहरुको आयआर्जनमा सहयोग पु¥याउने उदेश्यले उक्त तालिम आयोजना गरिएको हो ।
अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रद्वारा आयोजना गरिएको तालिममा रोशी गाउँपालिकाको समन्वय तथा ओएनजिडी–एफएनईएलको साझेदारी रहेको थियो । तालिममा कृषि प्राविधिक प्रशिक्षक हरिकृष्ण लागेजूले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा सहभागीलाई च्याउ उत्पादनका लागि आवश्यक वातावरण, बीउ व्यवस्थापन, कम्पोस्ट तयार गर्ने तरिका, रोग तथा कीरा नियन्त्रण, उत्पादन व्यवस्थापन र बजारिकरणका विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको छ । तालिमका प्रशिक्षकहरूले च्याउ खेती कम लगानीमा सुरु गर्न सकिने र छोटो अवधिमै राम्रो आम्दानी लिन सकिने व्यवसाय भएकाले ग्रामीण क्षेत्रका लागि अत्यन्त उपयुक्त रहेको बताएका छन् ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले कृषिमा आधारित उद्यमशीलताको विकास गाउँपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै यस्ता तालिमले स्थानीय नागरिकको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।










