काभ्रे,
रोशी गाउँपालिकाले भोलि असार ५ गते शोक विदा दिने निर्णय गरेको छ । गत जेठ २९ गते दिउँसो बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ सेल्फीडाडामा भएको भयानक बस दुर्घटनामा परी रोशी गाउँपालिकाका ७ जना नागरिकसहित ८ जनाको दुखद निधन भएको शोकमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाले शोक वक्तव्य जारी गर्दै २०८३ साल असार ५ गते शुक्रबारका दिन गाउँपालिका भित्रका सम्पूर्ण कार्यालय, शिक्षण संस्थाहरू र स्वास्थ्य संस्थाहरू (अत्यावश्यक बाहेक) तथा मातहतका सम्पूर्ण कार्यालयहरूमा बिदा दिने निर्णय गरेको हो ।
गत जेठ २९ गते दिउँसो अन्दाजी १४ः१५ बजेको समयमा बि.पि. राजमार्ग स्थित सेल्फिडाडामा भएको थियो। बनेपाबाट रोशी गाउँपालिका वडा नं. ८ को खार्पाचोक हुँदै वडा नं. ६ को सुँगुरे तर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको पूर्व अरनिको यातायातको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो।
गाउँपालिकाले यस दुखद घडीमा दिवंगत आत्माहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। त्यस्तै, गाउँपालिकाले दुर्घटनामा परेर मृत्यु भएकाका परिवारलाई जनहि पचास हजार रुपैयाँ दिने समेत निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाले मृतकको काजकिरिया खर्चको लागि सहयोग गर्ने निर्णय भएको बताउनुभयो । साथै, दुर्घटनामा परी घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।











