२०७६-०६-१२ बनेपा,
नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट सरकार यो नै अन्तिम भएको बताएका छन् । राणा शासन, पञ्चायत शासन र राजतन्त्र फालेको काँगे्रसले जनताको बलमा कम्युनिष्ट शासन धेरै टिक्न नदिने बताए । नेपाल शिक्षक संघ काभे्रले बनेपामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले नेपाली काँगे्रससँग जोहोरी नखोज्न ओली सरकारलाई चेतावनी दिए ।
“कम्युनिष्ट सरकारसँग दुई तिहाई हुँदैमा, तपाईहरु निरास, हतोसाहित हुनुपर्दैन, हामीसँग जनताको साथ छ” । कार्यकर्तालाई हौसला बढाउँदै देउवाले– “तर त्यसका लागि पार्टीमा एकता जरुरी छ” । उनले भाषण भन्दा गाउँगाउँका जनताको समस्या बुझन नेता जानुपर्ने बताएका छन् । “तपाईहरु यहाँ भाषण गर्ने होइन, गाउँका जनताले के दुःख पाएका छन्, समस्या के छन्, सरकारका कारण कति दुःख भोगेका छन्, त्यसमा लाग्नुहोस् । त्यसले मात्र काँगे्रसलाई बलियो र कम्युनिष्ट सरकारको अन्त्य गराउँछ” । उनले तीन बर्ष धेरै लामो समय नरहेकाले अहिले देखिनै जनताको घरदैलोमा जान नेतालाई आग्रह गरेका छन् ।
उनले सबै भन्दा ठूलो जनता नै भएकाले उनीहरुका समस्यामा केन्द्रीत हुन नेताहरुलाई निर्देशन पनि दिए । “सरकारले ल्याएको मिडिया काउन्सिल बिद्येयक, गुठी बिद्येयक, मानव अधिकार विद्येयक लगायतले सरकारको नियत प्रष्ट भएका ले त्यसका बिरुद्ध कहिल्यै पछाडि हट्न सक्दैन” ।
कार्यक्रममा नेपाली काँगे्रसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला सरकारले संविधानको उल्लघन गर्दै गएकाले सदन र सडकबाट काँगे्रसले खबरदारी गर्नुपर्छ भनेका छन् । नेपाली काँगे्रसका युवा नेता बद्री पाण्डेले चिनियाँ राष्ट्रपति सी जिङपङिको विचार लाद्न खोजे मुलुक अन्य मुलुकको खेलाउन बन्न सक्ने चेतावनी दिए । नेपाली काँगे्रसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले चुनावको घोषणा अनुसार कम्युनिष्ट सरकारले काम गर्न नसक्दा जनतामा निरासा बढ्दै गएको बताए । त्यस्तै जिल्ला सभापति मधुप्रसाद आचार्यले गरिब जनताका लागि शिक्षा र स्वास्थ्य सहुलियत बनाउन काँगे्रस लागेको बताए । प्रतिनिधिसभा क्षेत्र नं १ का सभापति तीर्थ लामाले नेपाली काँगे्रस कहिल्यै कमजोर नरहेको र अब पनि हुन नसक्ने भन्दै उत्साहका साथ अगाडि बढी रहेको बताए ।

Facebook Comments