रोशी सहकर्मी–माघ २३,
२०७६,काभ्रे/

काभ्रेका ४ हजारभन्दा बढी भूकम्पपीडितको नाम आवास पुनःनिर्माण लाभग्राही सूचीबाट हटाउने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलले काभ्रे जिल्लाका ४ हजार ३६६ परिवार सम्पर्कमा नआएपछि आवास पुनःनिर्माण लाभग्राही सूचीबाट हटाउन सिफारिस गर्ने भएको हो । हालसम्म आवास पुनःनिर्माणमा सूचीकृत जिल्लाको ८४ हजार ४७५ परिवारमध्ये चार हजार ३६६ परिवार सम्पर्कमा नआएको सूचना अधिकृत गणेश घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार रोशी गाउँपालिकामा २७२, तेमालमा २२५, चौँरी देउरालीमा ३९९, भुम्लुमा २७१, खानीखोलामा ६२, बेथानचोक गाउँपालिकामा १३२, महाभारतमा ५२, बनेपा नगरपालिकामा ५०५, मण्डनदेउपुर नपामा ४६३, धुलिखेल नपामा ४००, पाँचखाल नपामा ५७३, पनौती नपामा ५०९ र नमोबुद्ध नपामा ५०१ भूकम्पपीडित परिवारले आवास अनुदान रकम सम्झौता नगरेका हुन् ।
पूर्वाधार कार्यालयका अनुसार भूकम्पपीडितमा सूचीकृत भई सम्झौता गर्न नआएका चार हजार ३६६ जनाको नाम सिफारिस गर्न सूची तयार गरिसके पनि पुनःनिर्माण प्राधिकरण केन्द्रीय कार्यालयमा पठाईनसकेको जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत पुस मसान्तभित्र सम्झौता गर्न नआएका भूकम्पपीडितको नाम एक हप्ताभित्र पठाउन पत्राचार गरेको थियो । जिल्लास्थित कार्यालयले उक्त सूची पठाउन नसकेपछि प्राधिकरणले केही दिनदेखि ताकेता गर्दै ‘२४ घण्टे अल्टिमेटम’ दिन थालेको छ । भूकम्पले क्षति र्पुयाएपछि प्रधिकरणमार्फत सर्भे भएका ९८ हजार १९ घरमध्ये ७६ हजार ६६१ परिवारले मात्रै आवास पुनःनिर्माण सम्झौता गरेका थिए ।
गत सोमबारसम्म ५९ हजार ९२० परिवारले दोस्रो किस्ता तथा ५० हजार ४१४ परिवारले तेस्रो किस्ताबापतको रकम बुझिसकेको कार्यालयले जनाएको छ । कार्यालयले तेस्रो किस्ताबापतको रकम भूकम्पीडितले बुझेका आधारमा काभ्रेपलाञ्चोकमा ६० प्रतिशत आवास पुनःनिर्माणको काम सकिएको जनाएको छ । विभिन्न चरणको गुनासोपछि हालसम्म जिल्लाका १ हजार ७१ जनाको नाम लाभग्राहीमा सूचीकृत भएको पूर्वाधार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयमा हालसम्म स्वेच्छिकरूपमा ५२ जनाले आवास पुनःनिर्माणको पहिलो किस्ताबापतको रकम फिर्ता गरेका छन् भने सङ्घसंस्थामार्फत आवास पुनःनिर्माण गरेका १६६ जनाको बैंक खाताबाट रकम फिर्ता गराइएको छ । सङ्घसंस्थाको सहयोगमा आवास पुनःनिर्माण गरेकालाई सरकारको आवास अनुदान नदिइने प्रावधान छ ।

Facebook Comments