तस्विरःराजन दाहाल

यश कुमार परियार–फागुन २७,
२०७६,भकुण्डे/

गत भदौ ८ गते नमोबुद्ध नगरपालिकाले भत्काएको आठ इँटा उद्योग फेरी धमाधम निर्माण हुन थालेको छ । नमोबुद्ध नगरपालिकाले मापदण्डविपरीत सञ्चालन गरी नगर प्रदूषण गराएको भन्दै भत्काएको इँटा उद्योगका भट्टाचिम्नी व्यवसायीले पुनःनिर्माण गरेका छन् । नगरले २ र ३ नं वडामा संचालित आठ इँटा उद्योगको भट्टाचिम्नी क्रेन प्रयोग गरी भत्काएको थियो ।

नगरपालिकाले सुरुमा भत्काएको नमोबुद्ध नगरपालिका वडा नं २ मा रहेको भैरवकुण्ड इँटा उद्योगले चिम्नी निर्माण गरेको छ । भक्तपुर नगरपालिका वडा नं ६ का राम सुवाल लगायत सात जनाको समूहद्वारा सञ्चालित उक्त उद्योगले चैत पहिलो साताबाट इँटा उत्पादन प्रक्रिया थाल्ने पनि जनाएको छ ।
नगरपालिकाले इँटा उद्योगको भट्टाचिम्नी भत्काएकै दिन इँटा उद्योगीले नपाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । उद्योगीको मुद्दामा गत भदौ १० गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले ‘छलफलबाट टुङ्गो नलागेसम्म नेपाल सरकार (मन्त्रिस्तर)बाट मिति २०७५ साल जेठ १४ मा भएको निर्णय एवं सो निर्णयको आधारमा विपक्षी नमोबुद्ध नगरपालिकाको कार्यालयसमेतबाट भएका अन्य निर्णय हाल कार्यान्वयन नगरी यथास्थितिमा राख्नु तथा निवेदकको इँटा उद्योगमा कुनै हस्तक्षेप नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

भट्टाचिम्नि निर्माण भएको भन्ने थाहा पाए लगतै फागुन ११ गते वडा अध्यक्ष सञ्जीव ढकालले एक सुचना जारी गर्दै तत्काल काम अगाडि नबढाउन आदेश दिएका थिए । अदालतबाट सम्पुर्ण पक्षमा पुर्णकालिन निर्णय नआएका हुनाले तत्काल निर्माणकार्य स्थगित गर्न सुचनामा उल्लेख गरिएको छ । तर यता भैरवकुण्ड इँटा उद्योगका सञ्चालक राम सुवालले भने आफुले सम्पुर्ण प्रक्रिया पुरा गरेरै निर्माण कार्य सुरु गरेको बताए । रेडियो रोशी सँग कुरा गर्दै उनले नगरपालिकाले तोकेकै मापदण्ड अनुसार उद्योग सञ्चालन गर्न लागिएको र वातावरण मैत्री चिम्नि बनाएको दावी गरेका छन् । हाल निर्माण गरिएको भट्टाचिम्नी ‘सावर–जिकज्याक सिष्टम’ भएकाले प्रदूषणरहित सेतो धुवाँ निस्कने उनको भनाई छ । नगरपालिकामा अनुमती नलिई उद्योग संचालन गर्न लागेको भन्ने सन्दर्भमा कम्पनीमा दर्ता भएका कारण भट्टाचिम्नी बनाउन नगरपालिकामा स्वीकृति लिनु नपर्ने उनको भनाई छ । आफुले नियमानुसार कर तिर्दे आएको र नगर सँग भट्टाचिम्नी बनाउन स्वीकृति लिनुपर्ने भए लिन्छौँ भनेका छन् ।

प्रवक्ता समेत रहेका वडा अध्यक्ष ढकालले भने चिम्नि निर्माण हुनु भनेको सरासर कानुनको खिल्लि उडाउनु सरह रहेको बताए । उनले भने “नियम विपरित काम भएको छ, सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ । दुवै पक्षलाई ईट्टा भट्टा उद्योग सम्बन्धि कुनै पनि काम नगर्न नगराउन, नगरपालिकाले ईट्टा उद्योगिमाथि कुनै पनि हस्तक्षेप नगर्न र भत्की सकेको ईट्टा उद्योगलाई यथास्थितिमा राख्न अदालतबाट अल्पकालिन अन्तिरिम आदेश जारी भएको हो” –भन्दै उनले “सर्वोच्च अदालतबाट यो विषय पुर्ण ईजलासमा सबै पक्षको वहस र छलफल मार्फत टुङ्ग्याउनु पर्ने भएकाले पुर्ण ईजलासमा पेश गर्नु भन्ने आदेश आएको थियो । अहिले यसको टुङ्गो लागिसकेको अवस्था छैन, उद्योगिले जवरजस्ती काम गर्नुभएको छ” भने । यस्तो हुँदा सम्मानीत अदालतको मानहानी भएको उनको भनाई छ । वडा कार्यलय मार्फत चिम्नि ठड्याउन नगर सँग अनुमति लिनै पर्ने भएपनि नगरको वेवास्ता गरी आदेशको विरुद्धमा उद्योग संचालन गरेकाले नगरपालिकाको ध्यानाकार्षण भएको छ र कानुनी प्रक्रियामा रहेको उनले बताए ।

इँटा उद्योग व्यवसायी संघका जिल्लाध्यक्ष जीतेन्द्र खयामलीले सर्वोच्च अदालतले नगरपालिकालाई इँटा उद्योगलाई कुनै पनि हस्तक्षेप नगर्नु भन्ने आदेश भएका कारण उद्योगीले भट्टाचिम्नी बनाउन कुनै बाधा नहुने बताए ।

नगरप्रमुख टिपी शर्माले व्यवसायीले नपाको स्वीकृतिबिना भट्टाचिम्नी निर्माण गरेको बताए । सर्वोच्च अदालतले दुवै पक्षलाई ‘यथास्थितिमा रहनु’ भन्ने आदेश दिँदा दिँदा दिँदै पनि कानुनको अबज्ञा गरेको उनले बताए । हरेक संरचना निर्माण गर्दा पनि नगरपालिका सँग स्विकृति लिनुपर्ने नियम छँदाछँद उद्योगीले विना ईजाजत भट्टाचिम्नी बनाइएको प्रमुख शर्माको भनाई छ । गत साल पुस २७ गते जिल्ला समन्वय समितिका पदाधिकारी, नपा पदाधिकारी र इँटा उद्योगीबीच २०७६ असार मसान्तभित्र नमोबुद्ध नपा क्षेत्रमा सञ्चालित आठ इँटा उद्योग हटाउन आठबुँदे सहमति भएको थियो । सहमति कार्यान्वयन नभएपछि नगर कार्यालयले गत भदौ ८ गते वडा नम्बर २ र ३ मा सञ्चालन हुँदै आएका इँटा उद्योगको भट्टाचिम्नी भत्काएको नगरप्रमुख शर्माले बताए ।

Facebook Comments