काभ्रे,
पछिल्लो १० वर्षको अन्तरालमा नेपालमा साढे १३ प्रतिशत जनसङ्ख्याले कृषि पेशा छाडेका छन् । आर्थिक वर्ष २०६८÷०६९ मा ७३ दशमलव ९ प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित रहेकोमा सो दर अहिले घटेर ६० दशमलव ४ प्रतिशतमा झरेको छ । यसो हुनुको एक मूख्य कारण उत्पादनले उचित मुल्य नपाएको किसानको भनाइ छ । सरकारले कृषिको व्यावसायिकरण र बजारीकरणको कुरा गरिरहँदा किसान भने मूल्य नपाएर सडकमा तरकारी फालिरहेका छन् । कृषि बजार नहुनु र भारतबाट आयात हुने तरकारीले बजार लिँदा सर्वसाधारण नागरिकले कृषि पेशा छाड्ने क्रम बढेको राष्ट्रिय कृषक समूह महासङ्घका अध्यक्ष नवराज बस्नेतले बताउनुभयो ।
नेपालमा बर्सेनि २ खर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात हुने गरको छ । नेपालमै उत्पादित कृषिजन्य वस्तुको बजारीकरणका लागि प्रभावकारी योजना कार्यान्वयन गरे ५० प्रतिशत आयात प्रतिस्थापन गर्न सकिने विज्ञहरू बताउँछन् ।