रोशी सहकर्मी–चैत्र ७,
२०७६,काभ्रे/

जिल्लाको रोशी स्थित माम्ती र थानसिङ बेसीमा १० वर्ष अघि देखि निर्माणाधिन मोटरेबल सस्पेन्सन पुल निर्माणले गति लिएको छ । प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज) ले निर्माण कम्पनी र सम्बन्धित कार्यालयलाई अल्टिमेटम दिएसँगै पूल निर्माणले गति लिएको हो । दुवै पुल निर्माण कार्य सम्पन्न गर्न यस अघि सांसद बमध्वज, पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज), निर्माण कम्पनीको प्रतिनिधि र सम्बन्धित कार्यालयको प्रमुख लगायतका पूर्वाधार विकास कार्यालय काभ्रेमा बैठक बसेको थियो । बैठकले एक हप्ता भित्रमा काम सूचारु गर्ने निर्णय गरेको थियो ।
रोशी गाउँपालिका वडा नं ७ मा पर्ने थानसिङबेशीको पुल बिगत १० वर्ष दृखि अलपत्र अवस्थामा थियो । निर्माण कम्पनी इलाइट कन्स्ट्रक्शनका मुख्य प्रतिनिधि तारा प्रसाद पौडेले असार १५ गतेसम्ममा पुल निर्माण कार्य सम्पन्न हुने बताए । उनका अनुसार माम्तीको पुल बैशाख १५ गतेसम्म र असार १५ गतेसम्म कटुञ्जेको थानसिङबेसीमा पुल निर्माण भइसक्ने छ ।
वडा नं ७ का अध्यक्ष पोष्टराज गौतमले निकै लामो समयको प्रयासपछि जनताको सपना पुरा हुने बताए । पुल निर्माण पछि रोशी लगायत आसपासका क्षेत्रलाई पनि सहयोग पुग्ने बताए । त्यस्तै नेकपाका जिल्ला सदस्य एवं स्थानीय उज्वल लामाले पुल निर्माण कार्य सम्पन्न भएपछि आर्थिक उन्नतिको बाटो खुल्ने बताए । थानसीङबेशीको पुल निर्माण नहुँदा यातायात देखि लिएर किसानले उत्पादन गरेको सामग्रीहरुले समेत बजार नपाएको बताउँदै अब जनतालाई सहज हुने विश्वास व्यक्त गरे ।
सांसद बमध्वजले पुल निर्माण कार्य सम्पन्न भएपछि यस भेगका जनताको चाँडै खुशीको दिन आउने बताए । पुल नहुँदा वर्षाको समयमा सवारी आवात जावातमा, खाद्यान्न ढुवानीम निकै समस्या पर्ने गरेको थियो । तर अब तेसो नहुने र निर्धारीत समय भित्र पुल निर्माण हुन्छ, कुनै पनि समस्या आए आफू सहयोग गर्न तयार रहेको बताए ।
पुल निर्माणस्थलमा बुधबार सांसद बमध्वज, पूर्वाधार विकास कार्यालय काभ्रेका प्रमुख लोकनाथ रेग्मी, नमोबुद्ध नगर सभापती कुन्साङ लामा, रोशी गाउँपालिका वडा नं ७ का अध्यक्ष पोष्टराज गौतम लगायतले पुल अनुगमन गरेका थिए । पुल निर्माण भएपछि रोशी गाउँपालिकाको वडा नं. २, ३, ४, ५, ६ का जनता र महाभारत गाउँपालिकाको पूरै जनतालाई सेवा सविधा पुग्ने छ ।

Facebook Comments