काभ्रे,
काभ्रेपलाञ्चोक जिल्लाकोे रोशी खोलामा आएको बाढीका कारण फसेका माइक्रोबसका ८९ जना यात्रुको सकुशल उद्धार भएको छ । सोमबार साँझदेखि रोशी गाउँपालिका–७ घुमाउनेमा ५ वटा ईभी हाईसमा अलपत्र अवस्थामा परेका ८९ जनाको राती १ः३० बजे उद्धार गरिएको हो । उनीहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले डोरी र ¥याफ्टिङ बोटको सहायताले सकुशल उद्धार गरीएको हो । उद्धारका लागि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, जिल्ला समन्वय समिति प्रमुख दिपक गौतम, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, सुरक्षा निकायका प्रमुखहरू तथा स्थानीयवासीहरू निरन्तर रुपमा लागिपरेका थिए । जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले सबै यात्रुहरुलाई उद्धार गरी गन्तव्यतर्फ पठाइएको जानकारी दिनुभयो । बीचमै फसेका सवारीसाधानलाई सुरक्षित स्थानमा राखिएको छ । वर्षा र बाढीका कारण बीपी राजमार्गका विभिन्न खण्ड क्षतिग्रस्त भएकाले सवारी आवागमन प्रभावित भएको छ ।
ती सवारीसाधनहरु प्रहरीले रोक्दारोक्दै जबर्जस्ती अघि बढेको बताईएको छ । यात्रुहरुको उद्धारलगत्तै प्रहरीले लापरबाहीपूर्ण तरिकाले सवारीसाधन चलाएको भन्दै पाँच जना चालकलाई नियन्त्रणमा लिएको छ । यात्रुको जीउधनलाई खतरा पु¥याई गाडी चलाएको आरोपमा पक्राउ परेका चालकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।













