काभ्रे,
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज शीतल निवासमा आयोजित शपथ समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई आँखीझ्याल उपहार दिएर बिदाइ गरेका थिए ।
यसैबिच, निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बिदा भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्मै पुगेर भण्डारीलाई बिदाइ गरेका छन् । राष्ट्रपति भण्डारी शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवासमा जानुभएको छ । उनी शीतल निवासबाट निजी निवासमा जाँदै गर्दा नेपाली सेनाको टोलीले टुँडिखेलबाट २१ तोपको सलामी दिएको थियो । भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित हुनुभएको थियो । यसपछि पनि उँहा दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते निर्वाचित हुनुभएको थियो ।