काभ्रे,
बुद्धचित्त मालाको कारोबारमा काभ्रेका किसान र बिक्रेता असन्तुष्ट बनेका छन् । काभ्रेको ठूलोपर्सेल, चापाखोरी, मेच्छे, मंगलटारलगायतका स्थानमा पाइने बुद्धचित्त मालाको कारोबारमा किसान र बिक्रेताले असन्तुष्टी जनाएका हुन् । काभ्रेको बोल्देफेदिचे, कानपुर, खार्पाचोकलगायतका स्थानमा बोधिचित्त पाइनेगरेको छ । यहाँको बुद्धचित्त मालाको बिरुवाको बाहिरी रूप बयर प्रजातिसँग मेल खाने र यो विश्वका अन्य ठाउँमा पाइनेभन्दा बेग्लै रैथाने प्रजाति भएपछि किसान तथा व्यवसायी पनि उत्साहित छन् । काभ्रेको तेमाल गाउँपालिका ९ का दिनेश रायमाझीले बोधीचित्त मालाको व्यापारबाट आम्दानी राम्रो भए पनि प्रहरीप्रशासनले अनावश्यक दुख दिएको बताउनुभयो । यसको काठ, पात, दाना, धार्मिक कार्यमा प्रयोग हुन्छ भने बौद्ध धर्मावलम्बीहरूले जप गर्न र लगाउन प्रयोग गर्ने माला बुद्धचित्त बाटै बनाइन्छ ।
बुद्धचित्त संकलन र बेच्नका लागि स्थानीय सरकार आउनुअघि जिल्ला वन कार्यालयले संकलन र छुट पूर्जी दिने गरेको थियो भने किसानलाई विरुवा पनि बाँड्ने गरेको थियो । तर स्थानीय सरकार आएपछि त्यहाँबाट पाइने कागजातमा तीन दिनभित्रमा सङ्कलन तथा निकासी गर्ने उल्लेख हुन्छ । यो समय कम भएको रोशी ९ का अमृत तामाङले गुनासो गर्नुभयो । दिइएको समयसीमा भित्र बोधीचित्तको सङ्कलन तथा ढुवानी नहुने गरेका कारण प्रहरी प्रशासनले नियन्त्रणमा लिने गरेको छ । बोधिचित्तको कारोबार गर्नेहरूले काभ्रेका विभिन्न ५ वटा सुरक्षा पोष्टमा जाँच गराउनुपर्छ । काभ्रेको तेमाल र रोशी गाउँपालिकाबाट मात्रै वार्षिक करिब १४ करोड बराबरको बोधिचित्तको कारोबार हुने गाउँपालिकाको तथ्याङ्कले देखाउँछ । बोधिचित्तको मालाबाट किलोमा २५ देखि २५ रुपैयाँ सम्बन्धित पालिकाले राजश्व उठाउने गरेका छन् ।