रोशी सहकर्मी–जेठ १३,
२०७७,काभ्रे (खानीखोला)/

काभ्रे जिल्लाको खानीखोला गाउँपालिका वडा नं. ७ मा हावाहुरी सँगै आएको बर्षाले दर्जन बढि घरमा क्षती पुगेको छ । देशभर मौसममा बदली भईरहेको समयमा आज साँझ आएको हावाहुरीले घरको छाना उडाउनुको साथै साथै खाद्यान्न र वालीनाली नष्ट भएको स्थानियले बताएका छन् ।

विश्वभर महामारी फैलिरहेको समयमा हावाहुरीले उठिबास लगाउने भन्दै स्थानिय चिन्तीत बनेका छन् । “घरको छानो उडायो, अब राती पानी पर्यो भने कता जाने के गर्ने”– एक स्थानियले बताए । वडा नं. ७ का वडा अध्यक्ष क्षेत्रमान ग्याबाका अनुसार विभिन्न गाउँहरुमा हावाहुरी र वर्षाले ठूलो क्षति भएको बताए ।

वडा अध्यक्ष ग्याबाका अनुसार सबैभन्दा बढी क्षतिहुनेमा च्योमन डाँडा रहेको छ । स्थानिय दुर्गाबहादुर गोले, खुमान घिसिङ, धनराज घिसिङ, विष्णुमाया गोले, सुनबहादुर घिसिङ, दुधराज गोलेको टहरो, हस्ताबहादुर ग्याबा, कृष्णबहादुर ग्याबा, डिलबहादुर थिङ, कनकबहादुर ग्याबा लगायतको घर र गोठको छाना हावाले उडाएको छ ।

पानी सहित आएको हावा हुरीमा उडाएको जस्ताले लागेर स्थानिय रविना वाइबा, रेणुका गोले सहित ६ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको वडा अध्यक्ष ग्याबाले जानकारी दिए ।

यतिमात्र नभई हावाहुरीले धाप्ले गाउँ, मिल्चे गाउँ, पाकडोल, खजुलीलेक लगायतका स्थानीको घरहरुमा क्षती पुगेको छ । वडा अध्यक्ष ग्याबाका अनुसार क्षतिको विवरण संकलन भइरहेको र घरको अनुगमन पछि पालिकाबाट उचित क्षतिपूर्तिको व्यवस्था गरिने बताए ।

Facebook Comments Box