२०७७–जेठ २७,
काभ्रे/

कोरोनाभाइरसको कहरका कारण तेस्रो मुलुकबाट काभ्रेली नागरिक आउने भएपछि धुलिखेलका होटल क्वारेन्टाइनका रुपमा प्रयोग गरिने भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र ९डिसीसीएमसी० को सोमबार बसेको बैठकले धुलिखेलका होटललाई क्वारेन्टाइन बनाउने निर्णय गरेको हो ।

क्षेत्रीय होटल सङ्घ धुलिखेलका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले विदेशबाट फर्किएका र पैसा तिरेर बस्न इच्छा भएकालाई राख्न धुलिखेलका ६२७ बेडको होटल क्वारेन्टाइनका लागि दिन तयार भएको जानकारी दिनुभयो । सङ्घले धुलिखेलका १४ र बनेपाको एक होटल क्वारेन्टाइका लागि नाम उपलब्ध गराएको क्षेत्रीय होटल सङ्घकी सचिव ज्योत्सना सैँजूले जानकारी दिनुभयो ।
सङ्घले प्रस्ताव गरेको होटलहरूमा २, ३, ४ स्टारसम्मका छन् । यी होटलहरूमा एक व्यक्तिले तीन हजारदेखि आठ हजार रुपियाँसम्म प्रतिदिन बसेबापत तिर्नुपर्नेछ । तर डबल बस्ने हो भने दुई हजारदेखि पाँच हजार रुपियाँसम्म तिरे हुने सचिव सैँजूले जानकारी दिनुभयो ।

सङ्घले आवश्यक परे अन्य होटल पनि दिनसक्ने जनाएको छ । सङ्घका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले धुलिखेलमा मात्र ७४ होटलका एक हजार रुम रहेकाले सरकारले भनेमा अरुमा प्रयोगमा दिनसकिने बताउनुभयो ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले होटलमा खर्च गर्न नसक्नेका लागि स्थानीय तहले बनाएको क्वारेनटाइमा राख्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा अहिलेसम्म ६४३ क्वारेन्टाइन बेड तयारी अवस्थामा रहेका छन् । जिल्लामा अहिलेसम्म १०२ जना भारतबाट र युएईबाट तीन जना आइसकेका छन् । उनीहरू स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसिरहेका छन् । गोरखापत्रबाट

Facebook Comments