रोशी सहकर्मी–असार ९,
२०७७,बनेपा/

काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तह आर्थिक बर्ष २०७७÷०७८ को नीति, कार्यक्रम र बजेट निर्माणमा जुटेका छन । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण यस जिल्लाका स्थानीय तहले पनि बजेटमा स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएर बजेट ल्याउँदै छन । अघिकांश स्थानीय तहले असार १० गते नै नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने जनाएका छन ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जूले कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा, पूर्वधार र गरिवी निवारणलाई प्राथमिकता दिएको जानकारी दिनुभयो । पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले स्वास्थ्य, शिक्षा, कृषि र पूर्वधारलाई प्राथमिकता दिएर बजेट निर्माण भइरहेको जानकारी दिनुभयो । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले कोरोना नियन्त्रणलाई विशेष प्राथमिकता दिएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य, कृषि, एक वडा एक पिच सडक योजनालाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।

मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवाले स्वास्थ्य, शिक्षा, कृषि, पूर्वधारलाई प्राथमिकता दिएको जनाउनुभयो । नमोबुद्ध नगरपालिका प्रमुख टंकप्रसाद तिमल्सिना शर्माले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको जानकारी दिनुभयो । बनेपा नगरपालिकाका प्रवक्ता एवम् वडा न ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठले पूर्वधार, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको बताउनुभयो ।

रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले विदेशबाट फर्किएकालाई स्वरोजगार, स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता दिएको बताउनुभयो । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्वाले भौगोलिक विकटता रहेको र यातायात, खानेपानी लगायतका समस्या रहेकाले पूर्वधारसँगै स्वास्थ्य, कृषि र शिक्षालाई प्राथमिकता दिएको जानकारी दिनुभयो । बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले कोरोना रोगथाम, रोजगारी, शिक्षा, कृषि लगायत क्षेत्रलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।

चौँरीदेउराली गाउँपालिकाका अध्यक्ष दीनानाथ गौतमले स्वास्थ्य, कृषि र खानेपानीलाई प्राथमिकता दिएको बताउनुभयो । भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले स्वास्थ्य, कृषि, पशुपालन, खानेपानीलाई प्राथमिकता दिएको बताउनुभयो ।

तेमाल गाउँपालिकाका प्रवक्ता एवम वडा न ७ का अध्यक्ष ज्ञानबहादुर तामाङले स्वास्थ्य, पूर्वधार र शिक्षालाई प्राथमिकता दिएको बताउनुभयो । खानीखोला गाउँपालिकाका प्रवक्ता एवम् वडा न ६ का अध्यक्ष मानबहादुर गोलेले कोरोना रोगथाम, सडक, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएर बजेट निर्माण भइरहेको जानकारी दिनुभयो ।

Facebook Comments Box