रोशी सहकर्मी–असार १३,
२०७७,काभ्रे/

नाङशाल एशोसिएसन नेपालले बेथानचोक गाउँपालिकालाई बैकल्पिक कक्षा सञ्चालनका लागि पुस्तक सहयोग गरेको छ । वी वल्र्ड अनलसको आर्थिक सहयोग र नाङशाल एशोसिएसन नेपालको समन्वयमा बेथानचोक गाउँपालिकाका बाल कक्षा देखी तीन कक्षा सम्मका बालबालिकालाई पुस्तक उपलब्ध गराएको हो ।

शुक्रबार एक कार्यक्रमका बीच वी वल्र्ड अनलसका कन्ट्री डाइरेक्टर तिलक भट्टराई, नाङशाल एशोसिएसन नेपालका कार्यकारी निर्देशक गुणराज मुक्तान, प्रेस काउन्सिल नेपालका सञ्चालक सदस्य इश्वरी ओझाले गाउँपालिका अध्यक्ष प्रेमबहादुुर तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, शिक्षा शाखा प्रमुख पुष्पा राईलाई पुस्तक हस्तान्तरण गरेका थिए ।
नेपाल सरकारले असार १ गतेबाट बैकल्पिक माध्यम मार्फत पढाई सुरु गर्ने निर्देशान दिएको थियो । अनलाइन, टेलिभिजन र रेडियोको सहज पहुँच नभएको उक्त पालिकाले समुदायमा गएर बिद्यार्थीलाई कन्ट्याक सेसन सञ्चालन गर्ने सुरु गरेको थियो । तर पुस्तक भने थिएन । त्यसका लागि नाङशालले वी वल्र्ड अनलस मार्फत पुस्तक उपलब्ध गराएको थियो ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुुर तिमल्सिनाले गाउँसभा सकिएपछि कोरोना माहमारी आएकाले बजेट भएर पनि खर्च गर्ने अवस्था नरहेको समयमा नाङशालले जुन सहयोग पालिकालाई गरेको छ, त्यसले यस भेगका बिद्यार्थीको सिकाईमा ठूलो मद्त पुग्ने विश्वास लिएको बताए ।
नाङशालले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको अभिभावकको सहयोगमा बालबालिकालाई घरमा नै गराइन सकिने सिकाइ क्रियाकलापहरु पुस्तक वितरण गरेको थियो ।

वी वल्र्ड अनलसका कन्ट्री डाइरेक्टर तिलक भट्टराईले अनलाइन, टिभी र रेडियोको पहुँचमा नभएको बेथानचोक गाउँपालिकका बिद्यार्थीलाई पढाईबाट बञ्चित नहुन भन्नका लागि पुस्तक उपलब्ध गराएको जानकारी दिए ।
नाङशाल एशोसिएसन नेपालका कार्यकारी निर्देशक गुणराज मुक्तानले बेथानचोक गाउँपालिका, रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकामा पाठयपुस्तक उपलब्ध गराएको जानकारी दिए । उनका अनुसार बेथानचोकमा वी वल्र्ड अनलस, रोशीमा पालिकाको समन्वयमा र नमोबुद्धमा सेभद चिल्डेनको सहयोगमा नाङशालले पुस्तक उपलब्ध गराएको थियो ।

प्रमुख प्रशाकीय अधिकृत कृष्णप्रसाद सापकोटाले विपत्तका लागि थोरै बजेट पालिकामा रहेको र त्यो पनि सबै खर्च भएको अवस्थामा कसरी बिद्यार्थीलाई सिकाई गराउने भन्ने चिन्तामा रहेको समयमा वी वल्र्ड र नाङशालले विपत्तको समयमा बालबालिकाका लागि ठूलो सहयोग उपलब्ध गराएको भन्दै धन्यवाद दिए । शिक्षा शाखा प्रमुख पुष्पा राईले ४५ दिन सम्म पुग्ने सामग्री उक्त पुस्तकमा रहेकाले बिद्यार्थीको पढाईलाई सहज हुने बताइन ।

बेथानचोक गाउँपालिका वडा न २ मा रहेको पार्वती माध्यमिक बिद्यालयका प्रधानध्यापक गोविन्द शर्माले १८ वटा समूह बनाएर समुदायमा शिक्षक गएर पढाई सुरु गरिसकेको जानकारी दिए ।

Facebook Comments