काभ्रे,
काभ्रे जिल्लाको पनौती नगरपालिकाको ७ नं वडालाई विश्व सम्पदा सूचीमा सूचीकृतको प्रकृयागत तयारी गरीएको छ । नगरपालिकाले नगरको बजार क्षेत्र ७ नं वडालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रकृयागत तयारी थालेको हो । सूचीकरणको मापदण्ड पुरा गर्न नगरपालिकाले विभिन्न कृयाकलाप गदैैआएको छ ।
नगर प्रमुख रामशरण भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत हुनको लागि सो क्षेत्रका घरहरु सम्पदामैत्री निर्माण गर्न प्रोत्साहन गरिएको बताउनुभयो । नगरपालिकाले निजी भवनको संरक्षण तथा बाहिरी आवरण सम्पदामैत्री बनाउने घरधनीलाई प्रोत्साहनस्वरूप रकमसमेत उपलब्ध गराउँदै आएको छ । हालसम्म युनेस्कोका नेपाल प्रतिनिधि क्रिष्टियन मनहर्टले हालै पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गरिसकेको उहाले बताउनुभयो ।
सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीलाई पनौतीको संरक्षित स्मारक क्षेत्रको भ्रमण गराउँदै पुरातात्विक महत्वको यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनको लागि पहलकदमी र यसको संरक्षण, संबर्द्धनका लागी समेत आग्रह गरिएको उँहाले बताउनुभयो ।