रोशी सहकर्मी–भदौ ९,
२०७७,भकुण्डे/

नमोबुद्ध नगरपालिकाको आइसोलेसनमा उपचाररत तीनजना कोरोना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । दोस्रोपटकको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई आज नगरपालिकाले विदाई गरेको हो । उनीहरु अब १४ दिनसम्म होम क्वारेन्टाइनमा रहनेछन् । नमोबुद्ध नगरपालिकामा हालसम्म ५ जनाको कोरोना संक्रमण देखिएकोमा बाँकी दुई जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । त्यसमध्ये एक जना अस्पतालकै कर्मचारी हुन् ।

अहिले कोरोनाविरुद्धको लडाईं जितेर फर्किएका तीनैजना (वडा नंवर ५ का बर्ष २७ र बर्ष ३२ का पुरुष तथा वडा नंवर ७ का बर्ष ३२ का पुरुष) साउन तेस्रो साता विदेशबाट फर्किएर नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए । साउन २९ गते गरिएको पहिलो पिसिआर परिक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएसँगै उनीहरुलाई साउन ३० गतेदेखि नगरपालिकाले स्थापना गरेको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

उनीहरुको भदौ ७ गते गरिएको दोस्रो पिसिआर परिक्षणको रिपोर्ट भदौ ८ गते आएको र कोरोना संक्रमण नरहेको पुष्टि भएसँगै विदाई गरिएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख टिपी शर्मा तिमल्सिना, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईं, वडा अध्यक्षहरु, मेथिनकोट अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामशरण श्रेष्ठ लगायतले उनीहरुलाई विदाई गरेका थिए । विदाई कार्यक्रममा उनीहरुले आफूहरु अस्पतालमा भर्ना नभई नगरपालिकाकौ आइसोलेसनबाट कोरोना जितेर घर फर्कन पाएकोमा खुशी व्यक्त गरेका थिए ।

क्वारेन्टाइन र आइसोलेसनमा रहँदा आफूहरुलाई सकारात्मक उर्जा प्रदान गर्न नगरपालिकाका प्रतिनिधि र स्वास्थ्यकर्मीले दिएको हौसला अविश्मरणीय रहेको उनीहरुको भनाई थियो ।

आजै नगरपालिकाको क्वारेन्टाइनमा साउन ३१ गतेदेखि बस्दै आएका वडा नंवर १ का २५ बर्षीय पुरुषको पिसिआर परिक्षणको नतिजा नेगेटिभ आएसँगै उनलाई पनि घर पठाइएको छ । उनी पनि १४ दिनसम्म होम क्वारेन्टाइनमै रहनेछन् । हालसम्म १ सय २१ जना नमोबुद्ध नगरपालिकाले वडा नंवर ४ मा स्थापना गरेको क्वारेन्टनाइनमा बसेर घर फर्किइसकेका छन् । उनीहरुमध्ये १ सय १५ जना भारत तथा तेस्रो मुलुकबाट फर्किएर क्वारेन्टाइनमा बसेका थिए ।

नमोबुद्ध नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि हाल नगरपालिकाभित्र अतयावश्यकबाहेका सेवा, पसल व्यवसाय तथा यातायात वन्द गराएको छ । नगरपालिकामा ५० बेडको क्वारेन्टाइन र ६ बेडको आइसोलेसन सञ्चालनमा रहेको छ । अवश्यकताअनुसार आइसोलेसन बेडको संख्या बढाउन आवश्यक सामग्रीहरु तयारी अवस्थामा रहेको नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box