कात्तिक १८,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकाले रासायनिक मल वितरणको लागि सहकारी संस्थाहरु सुचिकृत हुन आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष डि.बि. लामाको अध्यक्षतामा बसेको ५० औँ कार्यपालिका बैठकले रासायनिक मल वितरणको लागि यहि कात्तिक २५ गते भित्र अनिवार्य रुपमा वडा कार्यालबाट सिफारिस गरी सूचिकृत हुन गाउँपालिका क्षेत्रमा रहेका सहकारी संस्थाहरुलाई अनुरोध गरेको हो । यदि सूचिकृत नभएका सहकारी संस्थाहरुलाई मल वितरण कार्य गर्न सिफारिस उपलब्ध नगराउने समेत गाउँपालिकाले निर्णय गरेको छ ।

यस्तै बैठकले रोशी गाउँपालिका वडा नं २ स्थित तिनधारे झरना संरक्षण¸ व्यवस्थापन तथा पर्यटन प्रवर्द्धनका लागि ४९ औं कार्यपालिका बैठकको निर्णय वमोजिम ७ दिन भित्र सम्बन्धित वडाका जनताहरुको आम भेला गरी बढीमा ११ सदस्यीय झरना संरक्षण समिति गठन गरी गाउँपालिकामा पेश गर्ने¸ अन्यथा गाउँपालिकाले नै वैकल्पिक व्यवस्था गरी समिति गठन गर्ने पनि निर्णय गरेको छ ।

यस्तै रोशी गाउँपालिकाको वडा नं १ खहरेपाँगुमा निर्मित अस्थाई अस्पतालको उदघाटन सहित आगामी १५ दिन भित्र गर्ने संचालन गर्ने पनि बैठकले निर्णय गरेको प्रवक्ता पदम बहादुर लामाले जानकारी दिए । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतका परियोजनाहरु सञ्चालन तथा कार्यान्वयनका लागि वडा नं २ बाट वेरोजगारहरुको नामावली गाउँपालिकामा हालसम्म पनि सूचिकृत नभएकोमा यथासिघ्र २ दिन भित्र सम्बन्धित शाखामा सूचिकृत गराउन पनि बैठकले निर्णय गरेको छ ।

Facebook Comments