मंसिर १५,
२०७७,काभ्रे/

काभ्रेमा आज तीन अस्पतालको शिलान्यास भएको छ । धुलिखेल नगरपालिका, रोशी गाउँपालिका र भुम्लु गाउँपालिकाको अस्पताल शिलान्यास भएको हो ।
धुलिखेल नगरपालिकाको काभ्रे स्वास्थ्य चौकीमा बन्न लागेको अस्पतालको धुलिखेलका नगरप्रमुख अशोककुमार व्याञ्जूले शिलान्यास गरेका थिए । त्यस्तै रोशी गाउँपालिका वडा नं १ को खहरेपाँगुमा बन्ने अस्पतालको गाउँपालिका अध्यक्ष डीबी लामा र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गणेश लामाले शिलान्यास गरेका थिए । भुम्लु गाउँपालिकाको भुम्लु स्वास्थ्य चौकीमा बन्ने अस्पतालको गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले शिलान्यास गरेका थिए ।

शिलान्यास कार्यक्रममा बोल्दै रोशी गाउँपालिका अध्यक्ष डि.वि.लामाले यस पालिका भौगोलिक हिसाबले विकट रहेको बताउँदै पालिका भित्र १० सैयाको अस्पताल निर्माण हुनु गौरवको कुरा भएको बताए । ‘खहरेपाँगुमा अस्पतालको अत्यन्तै आवश्यकता रहेको र जनताको आवश्यकतालाई परिपूर्ति गर्दै शिलान्यास कार्यक्रम सम्पन्न गर्न सफल भयौँ’ लामाले बताए ।
त्यसैगरी अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष गणेश लामाले यस अस्पताल निर्माण पस्चात रोशी गाउँपालिका लगायत नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका, महाभारत गाउँपालिका, खानीखोला गाउँपालिकाका केही नागरिकहरु लाभान्वित हुने बताए । हाल रोशी गाउँपालिकाको स्वामित्वमा रहेको २५ रोपनी जग्गामा अस्पताल निर्माण गर्न लागिएको उनले जानकारी दिए ।

त्यसै गरी पालिकाको उपाध्यक्ष लक्ष्मीकुमारी वर्तौलाले रोशीको वडा न. १, २, ३ र ४ ओझेलमा परेको र प्रशव वेथाका महिलाहरुले सास्ती भोग्नुपरेको तथा कतिपयले ज्यान पनि गुमाउनु परेको समस्या अवको दिनमा अन्त्य हुने विश्वास लिईन् । त्यसैगरी प्रमुुख प्रशासकिय अधिकृत डम्बरु दाहालले अस्पताल १ करोड ८३ लाख हजारमा निर्माण हुन लागेको र यस अस्पताल समयवधिमै सम्पन्न गर्न सहयोग गरिदिन हुन स्थानीय नागरिक, व्यवस्थापन समिति, जनप्रतिधिहरुलाई अनुरोध गरे । अस्पतालमा विशेष गरी आधारभूत, स्त्रीरोग र सामान्य शल्यकृयाको सुविधा हुने जानकारी पनि दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काभ्रेका पाँच स्थानीय तहमा अस्पताल निर्माणका लागि छनौट गरेको भएपनि महाभारत र खानीखोलामा भने हुन सकेन । महाभारतमा मन्त्रालयले फरकफरक खालको चिठी पठाएका कारण घर्तीछापमा बनाउने की बनखुमा बनाउने भन्ने एकिन हुन नसक्दा शिलान्यास हुन नसकेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले बताए । त्यस्तै खानीखोलामा पनि जग्गा कम भएका कारण शिलान्यास हुन नसकेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले जानकारी दिए ।

मन्त्रालयले धुलिखेलमा १५ शैया र अन्य चार गाउँपालिकामा १०/१० शैयाको अस्पताल बनाउन बजेट विनियोज गरेको छ ।

Facebook Comments Box