माघ ६,
२०७७,काभ्रे/

नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियू) काभ्रेले सार्वजनिक बसले बिद्यार्थीलाई भाडा छुट नदिएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । आज जिल्ला संयोजक उपेन्द्र शर्माको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई ज्ञापन पत्र बुझाउँदै तत्काल कार्यान्वयनमा ल्याउन माग गरेको छ ।

अधिकांश यातायातका साधनले अहिले पनि बिद्यार्थी भाडा छुट सरकारले तोके अनुसार नदिएको गुनासो आएकाले प्रमुख जिल्ला अधिकारी मार्फत कार्यान्वयनका लागि पहल गर्न ज्ञापन पत्र बुझाएको अनेरास्ववियूले जनाएको छ । यातायात पूर्ण सञ्चालनमा आएको भएपनि राज्यले तोकेको बिद्यार्थी छुट नदिएको भन्दै अनेरास्ववियूको गम्भीर ध्यानकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ ।

अनेरास्ववियूले तत्काल बिद्यार्थी संगठन र यातायात व्यवसायी बीच बार्ताको वातावरण बनाउन, राज्यद्धारा यातायात क्षेत्रमा दिएको बिद्यार्थी सहुलियत कार्यान्वयन गराउन र ट्राफिक प्रहरी तथा प्रहरी चेकपोष्टमा यसको कार्यान्वयन बारे अनुगमन गर्ने वातावरण मिलाउन प्रमुख जिल्ला अधिकारीको ध्यानकर्षण गराएको छ ।

Facebook Comments