माघ १७,
२०७७,काभ्रे∕

साहित्यकार तथा साहित्यिक पत्रकार सूर्यप्रसाद लाकोजूको नवीनतम कृति स्वर्णिम धुन नामक मुक्तकसङ्ग्रह प्रकाशित भएको छ । लामो समयदेखि नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका सूर्यप्रसाद लाकोजूको यो मुक्तकसङ्ग्रह पनौती साहित्य समाजले प्रकाशित गरेको हो ।

मुक्तकसङ्ग्रहमा विना शीर्षकका १०१ वटा मुक्तकहरू सङ्हित छन् । देशभक्ति, राजनैतिक दुरावस्था, सामाजिक बेथिति, माया पिरती, मानवीय संवेगहरू आदि विषयहरूमा मुक्तक केन्द्रित छन् । साहित्यकार लाकोजूका यो मुक्तकसङ्ग्रहभन्दा अगाडि नेपाली भाषा र साहित्यको सेवा गर्दै आएका लाकोजूका भावनाका फूलहरू, फूलहरूको मेला, शाश्वत स्वरहरू गरी तीनवटा मुक्तकसङ्ग्रह, गुराँस फुल्ने मन र अक्षरका स्वरहरू गरी दुईवटा हाइकुसङ्ग्रह, पनौती, पनौतीको बाह्रवर्षे मकरमेला, केही काभ्रेली अक्षरकर्मी, स्मृतिका आलेखहरू, प्रेरणाको चौतारी गरी पाँचवटा निबन्धात्मक कृतिहरू, सुसेली नामक एउटा गीतसङ्ग्रह, कोपिला, घाम उदायो, फूलैफूल, साथी, मेरो सानो घर गरी पाँचवटा बालकवितासङ्ग्रहहरू प्रकाशित छन् । त्यसैगरी स्पर्श, मेरो मन मेरो मीत, घामको चुम्वन, मेरो घाम गरी चारवटा कवितासङ्ग्रहहरू पनि प्रकाशित छन् ।

Facebook Comments