माघ १९,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा आज (सोमबार) सम्म २ हजार ८ सय ४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । भारत सरकारले उपलब्ध गराएको १० लाख डोज खोप नेपाल सरकारले अग्रभागमा खटिने कर्मचारीलाई पहिलो चरणको खोप लगाउने निर्णय गरेपछि काभ्रे जिल्लामा पनि खोप अभियान जारी छ ।

आज मात्रै जिल्लामा ३ सय ३० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । जसमा धुलिखेल अस्पतालमा २ सय ४१ जना र मेथिनकोट अस्पतालमा ८९ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाले जानकारी दिए । उनका अनुसार जिल्लामा आज थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा बनेपा नगरपालिकाका ३ जना पुरुष रहेका छन् । यो सँगै जिल्लामा संक्रमितको संख्या ३ हजार ३ सय ३८ पुगेको छ । यस मध्ये संक्रिय संक्रमित १९ जना रहेको छन् ।

जिल्लामा कोरोना भाइरसका संक्रमित मध्ये उपचारपछि आज १ जना डिस्चार्ज भएका छन् । यो सँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या ३ हजार २ सय ७४ पुगेको छ ।

Facebook Comments