फागुन १०,
२०७७,काभ्रे/

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र रोशी गाउँपालिकाको साझेदारीमा शिखरआम्बोटेमा रहेको तीनधारे झरनाको संरक्षण हुने भएको छ । बाहुबली झरनाले चर्चित उक्त झरना लकडाउनका समयमा निकै चर्चित बनेको थियो । गाउँपालिकाले उक्त क्षेत्रको संरक्षणका लागि पहल गर्दै आएको थियो ।
नेपाल मै चर्चित बनेको उक्त झरनालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गाउँपालिकाले संरक्षणका लागि बजेट विनियोजन गरेपछि स्थानीयबासी खुशी भएका छन । मन्त्रालयले झरनाको संरक्षणका लागि गाउँपालिकाको साझेदारीमा काम अगाडि बढाउने जनाएको छ । मन्त्रालयले ७० प्रतिशत र रोशी गाउँपालिकाले ३० प्रतिशत रकम उक्त झरना संरक्षणका लागि विनियोजन गरेका छन । रोशी गाउँपालिकाका अध्यक्ष डीबी लामाले तीन बर्ष भित्रमा योजना सक्ने गरी तीनधारे झरनाको संरक्षण गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार तीनधारे झरना संरक्षणका लागि पर्यटन मन्त्रालयले तीन करोड ५० लाख र रोशी गाउँपालिकाले एक करोड ३० लाख सहित पाँच करोड रुपियाँ विनियोजन गरिएको छ ।

हुन त वि.सं. २०२८ सालमा नै पर्यटन विभागमा सूचिकृत भै सकेको तीनधारा झरना पहल हुन नसक्दा ओझेलमा परेको थियो । गाउँपालिकाले पर्यटकीय स्थलको चिनारी गराउने गरी प्रकाशित पुस्तकले उक्त झरनाको बारेमा लेखेपछि त्यसको प्रचार हुन थालेको थियो । त्यसपछि आन्तरिक पर्यटकहरुको ओइरो लागेको थियो । सामाजिक सञ्जाल, राष्ट्रिय देखी स्थानीय सञ्चार माध्यममा यसको चर्चा भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आर्कषणको केन्द्र बनेको थियो ।

तीनधारे झरना सहित अन्य तीन स्थानको भौतिक पूर्वाधार निर्माणका लागि मन्त्रालयले छनौट गरेको छ । आन्तरिक र विदेशी पर्यटकलाई गाउँगाउँसम्म पु¥याउने उद्देश्य सहित मन्त्रालयले देशभरका दुई सय वटा पर्यटकीय गन्तव्यको भौतिक पूर्वाधार विकास गर्न छनौट गरेको थियो ।
सोही अनुसार काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिकाको तीनधारे झरनाको संरक्षण, भुम्लु गाउँपालिकाको भीमसेनस्थान–गढीडाँडा–साँगासोतीको पर्यटन विकास, बनेपा नगरपालिकाको चण्डेश्वरीमा सिँढी निर्माण र चौँरीदेउराली गाउँपालिकास्थित साँगासोती–खाँडादेवी युद्ध पर्यटन पदमार्ग निर्माणका लागि छनौट परेका हुन ।

मन्त्रालयको पर्यटन पूर्वाधार विकास तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका–२०७७ अनुसार प्रदेश र स्थानीय तहको लागत साझेदारी पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रम अन्तर्गत भौतिक निर्माणलाई प्राथमिकता दिइएको हो । काभ्रेका चार स्थानीय तहका चार स्थानका लागि रु १३ करोड ९२ लाख बजेटसमेत विनियोजन गरिएको छ । नेपाल सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा भौतिक पूर्वधार निर्माण हुने छन । तीनधारे झरनाको संरक्षण र पूर्वधार विकासमा पाँच करोड, भीमसेनस्थान–गढीडाँडा–साँगासोतीको पर्यटन विकासमा चार करोड ६२ लाख, चण्डेश्वरीमा सिँढी निर्माणका लागि तीन करोड ३० लाख र साँगासोती–खाँडादेवी युद्ध पर्यटन पदमार्ग निर्माणका लागि एक करोड बजेट विनियोजन गरिएको छ । साँगासोती–खाँडादेवी युद्ध पर्यटन पदमार्ग एक बर्षमा सक्ने लक्ष्य लिइएको छ भने बाँकी योजना तीन बर्षमा भित्रमा सकिने छन ।

केन्द्रदेखि स्थानीय तहसम्मको अर्थतन्त्रमा योगदान पु¥याउने लगायत लक्ष्य राखेर भदौमा मन्त्रालयले देशभरका स्थानीय तह तथा प्रदेश सरकारसँग ओझेलमा परेका पर्यटकीय गन्तव्यको साझेदारीमा विकास गर्न प्रस्ताव आह्वान गरेको थियो । उक्त सूचनाका आधारमा मन्त्रालयमा प्राप्त ७ सय १३ वटा आयोजनामध्ये छानिएका २ सय आयोजनाको सूची गत शुक्रबार सार्वजनिक गरिएको हो ।

यी आयोजनाबाट प्रतिवर्ष १ अर्ब थप आम्दानी हुने भनिएको छ । सरकारले छानेका आयोजनामा प्रायः पार्क, पिकनिक स्थल, मन्दिर, पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक, पदमार्ग, सपिङ कम्प्लेक्स, साइकल ट्र्याक, संग्रहालय, पिकनिक स्पट, गुम्बा, स्मृति पार्क, फनपार्क आदि छन । यी आयोजनाका लागि केन्द्रीय सरकारले ६ अर्ब बजेट विनियोजन गरेको छ । यसअघि मन्त्रालयले १०० वटा नयाँ पर्यटकीय गन्तव्यस्थल निर्धारण गर्दा छनोटमा परेको काभ्रेपलाञ्चोकको महाभारत ट्रेल (लाँकुरीभञ्ज्याङ–फुल्चोकी–गुर्दुमडाँडा–नारायणस्थान–भुमेचुली पदमार्ग)को हाल विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको जनाइएको ।

Facebook Comments