फागुन २५,
२०७७,काभ्रे/

महिलाको हकहितका लागि योगदान गर्ने व्यक्तिलाई सम्मान गर्दै जिल्लाको नमोबुद्ध नगरपालिकाले १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । नारी दिवसको अवसरमा नगरपालिकाभित्र रहेका महिलाहरुका समस्या तथा त्यसलाई समाधान गर्ने उपायबारे समेत छलफल गरी मनाईएको हो ।

बागमति प्रदेशसभा सदस्य गोमा भुर्तेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाका सबै वडाका सयौं महिलाको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा छोरी जन्माउनेलाई पाँच हजार रुपैयाँ प्रोत्सहन रकमको व्यवस्था गर्ने वडा नं. ९ का अध्यक्ष मेलवहादुर लामा, शैक्षिक क्षेत्रबाट महिला सशक्तिकरणमा भूमिका निर्वाह गर्ने शिक्षिका चन्द्रादेवी खनाल, महिलाका लागि सेफ हाउस सञ्चालन गर्ने देवकी खनाल, सहकारीको माध्यमबाट महिलाको आर्थिक उन्नति र सशक्तिकरणमा भूमिका निर्वाह गर्ने भुवनेश्वरी श्रेष्ठ तथा नगरभित्रकै जेष्ठ महिला स्वास्थ्यस्वयंसेविका ठूलीमाया तामाङलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेश सांसद गोमा भुर्तेल, नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ लगायतले उनीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा सम्वोधन गर्दै प्रदेशसभा सदस्य गोमा भुर्तेलले हरेक क्षेत्रमा महिलालाई ३३ प्रतिशत सहभागिता संविधानले सुरक्षित गरेको र त्यसलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने बताइन् ।

यस्तै नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरभित्र महिलाको सशक्तिकरण, आर्थिक उन्नति, हिंसा न्यूनिकरणका लागि नगरपालिकाले वितगदेखि नै सक्रियतापूर्वक काम गरिरहेको बताए । कार्यक्रममा नगर उपप्रमुख रामदेवी तामाङले महिला सशक्तिकरणका क्षेत्रमा अन्य स्थानीय तह भन्दा नमोबुद्ध नगरपालिका अग्रस्थानमा रहेको बताइन् । हिंसापीडित महिला, एकल महिलाका लागि नगरले थप विशेष कार्यक्रमहरु ल्याएको र त्यसले महिलाहरुको आर्थिक उन्नतिमा सघाउ पु¥याएको उनले बताइन् ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, मानवअधिकारकर्मी भोजराज तिमल्सिना, अवकाशप्राप्त वरिष्ठ महिला विकास अधिकृत माया लोहनी, युवा नेतृ पवित्रा भुर्तेल लगायतले महिला हिंसा न्यूनिकरणमा सबै पक्ष लाग्नुपर्ने भन्दै महिलाको सशक्तिकरणका लागि अझै सक्रिय हुनुपर्ने बताए । कार्यक्रमअघि नगरका विभिन्न ठाउँबाट महिलाहरुले सचेतनामुलक ¥यालीसमेत निकालेका थिए ।

Facebook Comments Box