चैत्र ६,
२०७७,काभ्रे/

दक्षिणकाली नगरपालिका–१, खहरे चाल्नाखेल जंगलमा भेटिएको दुईजनाको शवको सनाखत भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार मृत्यु हुनेमा नुवाकोटका छापाका १६ वर्षीय अर्जुन खड्का र अर्का काभ्रेको भुम्लुका १८ वर्षीय मंगल तामाङ रहेका छन् ।

प्रहरीका अनुसार खड्का असनको टेउडा स्कुलमा कक्षा १० मा पढ्ने विद्यार्थी हुन् भने तामाङ क्षेत्रपाटीको जिपी स्कुलमा कक्षा १० मा पढ्थे । दुवै जना बांगेमुढामा बस्ने गरेको पाइएको प्रवक्ता बस्नेतले बताए । आज (शुक्रबार) दिउँसो दुई जनाको शव भेटिएलगत्तै काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंह, एसपी बस्नेतसहितको टोली घटनास्थल पुगेको थियो ।

केन्द्रीय प्रहरी कुकुर विद्यालयबाट विशेषज्ञ कुकुर ल्याएर घटनास्थलमा छाडिएको थियो र फरेन्सिक विज्ञसहितको टोलीले जाँच गरेपछि शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । घटनास्थल नजिकै सल्फस नामक विषादीको बट्टा भेटिएको छ । थप अनुसन्धान जारी छ ।

Facebook Comments Box