यश कुमार परियार–चैत्र २४,
२०७७,काभ्रे/

जिल्लाको नमोबुद्ध नगरपालिकामा आयोजित उपमेयर कप अन्तरवडा खुल्ला पुरुष भलिबल प्रतियोगितामा वडा नं २ विजयी भएको छ भने विद्यालय स्तरिय छात्रा भलिबल प्रतियोगितामा श्री कृष्ण मावि विजयी भएको छ । नमोबुद्ध नगरपालिकाको आयोजनामा संचालित खेलको संयोजन वडा नं ९ ले गरेको हो । आज (मंगलबार) भएको फाईनल खेल पुरुष तर्फ वडा नं २ र ९ बिच भएको थियो । जसमा वडा नं २ ले ४ सेटमा ३ सेट जितेर विजेता बनेको हो । यो सँगै वडा नं ९ देश्रो भएको छ भने वडा नं १० तेश्रो भएको छ ।

यस्तै महिला तर्फ श्रीकृष्ण मा बि प्रथम, जनक मा बी दृतिय र जनहित माबी तृतिय भएको नमोबुद्ध नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख जनार्दन रिजालले जानकारी दिए । प्रतियोगिताका प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले ५ हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।
उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि नमोबुद्ध नगरपालिकाका नगरप्रमुख टि.पि. शर्मा तिमल्सिनाले पुरस्कार प्रदान गरेका हुन् ।

आज (मंगलबार) सम्पन्न खेल २२ गतेबाट सुरु भएको थियो । खेलमा नगरपालिका कानपुर वडा नं ५ को २ टिम साथै सात वडाका ८ वटा टिम सहभागी थिए, भने छात्रा तर्फ ४ वटा टिमको सहभागीता थियो ।

नगर उपप्रमुख राम देवी तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख प्रशासकिय अधिकृत राजन पौडेल, खेल संयोजक एवं वडा नं ९ का अध्यक्ष मेल बहादुर लामा, विभिन्न वडाका अध्यक्षहरु, समाजसेवी, खेलप्रेमीको सहभागिता थियो भने नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख जनार्दन रिजालले कार्यक्रम संचालन गरेका थिए ।

Facebook Comments Box