बैशाख १२,
२०७८,काभ्रे/

जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. १० मा पशुबीमा कार्यक्रम सुरु भएको छ । आइतबार स्थानीय मनोहर कृष्ण श्रेष्ठको भैसीको बीमा गर्दै पशुबीमा कार्यक्रम सुरु गरिएको हो । नमोबुद्ध नगरपालिका पशु सेवा शाखाका प्राविधिकले बिमाको टाँचा लगाइदिएपछि नगर उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, र नमोबुद्ध १० का वडाअध्यक्ष रामकृष्ण अधकारीले श्रेष्ठलाई बिमालेख हस्तान्तण गरेर कार्यक्रम सुरु गरेका थिए ।

नमोबुद्ध नगरपालिका वडा नं. १० का सबै गाइभैसीको यही आर्थिक बर्षभित्रमै बीमा गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि वडा कार्यालयले ४ लाख पैयाँ बजेट विनियोजन गरेको छ । ६ सय ७२ घरधुरी रहेको उक्त वडामा ८ सयको हाराहारीमा गाइभैसीको बीमा गर्ने लक्ष्य राखिएको वडाअध्यक्ष रामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।

सरकारले किसानलाई सहुलियत दिने उद्देश्यले बीमाको प्रिमियम रकममा ७५ प्रतिशत छुट दिएको छ भने बाँकी २५ प्रतिशतमात्रै किसानले तिरे पुग्ने व्यवस्था गरिएको छ । त्यसमा पनि किसानले २५ प्रतिशतको आधामात्रै रकम तिरे पुग्ने र बाँकी रकम वडा कार्यालयको तर्फबाट बेहोर्ने वडाअध्यक्ष अधिकारीले बताए । यो आर्थिक बर्षबाट नगरका सबै वडामा गाइभैसीको बीमा गर्ने अभियान थालिएको नगरपालिकाको पशु सेवा शाखाका प्रमुख चिरञ्जिवी शर्माले जानकारी दिए । शर्माका अनुसार तत्कालै वडा नं. ९ र १० मा यो कार्यक्रम अघि बढाइनेछ भने क्रमश सबै वडामा बीमा कार्यक्रम लागु गरिनेछ ।

Facebook Comments Box