काभ्रे,
राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ। आज बिहान ९ बजेदेखि सबै ठाउँमा मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आगामी फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज निर्वाचन हुन लागेको हो । अर्का एक जना भने राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ । आज सात वटै प्रदेशका केन्द्रमा रहेका मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।
निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन् । जसमध्ये कोसीमा कुल ३ सय ६७, मधेसमा ३ सय ७४ र बागमतीमा ३ सय ४७ मतदाता छन् । त्यस्तै गण्डकीमा २ सय ३०, लुम्बिनीमा ३ सय ५, कर्णालीमा १ सय ९६, सुदूरपश्चिममा २ सय २८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनमा आज ५१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । तीन बजेसम्म मतदान हुने र आजै मत परिणाम सार्वजनिक गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।