यश कुमार परियार–बैशाख १८,
२०७८,काभ्रे/

काभ्रे जिल्लामा पछिल्ला दिन कोरोना संक्रमणको गति तिब्र भएसँगै १९ गते राती १२ बजेदेखी एक साताका लागि निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रशासन कार्यलय काभ्रेका प्रमुख जिल्ला अधिकारी शिव राम पोखरेलले आज एक आदेशात्मक सुचना जारी गर्दै एक साता निषेधाज्ञा हुने जनाएका हुन् । प्रशासन कार्यलय काभ्रेका अनुसार निषेधाज्ञा बैशाख १९ गते आईतबार राती १२ बजे देखि (सोमबारबाट लागु हुनेगरी) बैशाख २६ गते राती १२ बजेसम्म हुनेछ ।

प्रशासनले विश्वव्यापी महमारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण तिब्र रुपमा बढिरहेका कारण यसको रोकथाप तथा नियन्त्रणको लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरिएको जनाएको छ । प्रशासनले अत्यावश्यक बाहेकका कुनै पनि गतिबिध नगर्न भनेको छ । बर्खिलाप भएमा संक्रामक रोग ऐन २०२० तथा स्थानिय प्रशासन ऐन २०२८ अनुसार कार्वाही हुने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यलय काभ्रेले जारी गरेको आदेशमा अरनिको राजमार्गको साँगादेखि बनेपा– धुलिखेल–पाँचखाल हुँदै दोलालघाटसम्म सडकको दाँया–बाँया ५ सय मिटर, बनेपादेखि नाला भगवतीसम्म सडकको दाँया–बाँया ५ सय मिटर, बनेपा–पनौती–खोपासी सडकको दाँया–बाँया ५ सय मिटर, बीपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ–भकुण्डे हुँदै मंगलटारसम्म सडकको दाँया–बाँया २ सय मिटर र पाँचखालको जिरोकिलोदेखि कुन्तावेशीसम्म सडकको दाँया–बाँया २ सय मिटर सम्म निषेध आदेश जारी गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले काभ्रे जिल्लालाई ‘रेड जोन’ मा राखेको भए पनि संक्रमण नियन्त्रणको लागि प्रशासन र स्थानीय तहमा संक्रमण नियन्त्रणका गतिबिधि हुन सकेका थिएनन् । विवाह, व्रतबन्ध, भोजका नाममा दैनिक एक हजार जना भन्दा बढीको भीड हुने गरी पार्टी प्यालेसहरु सञ्चालनमा आएपनि प्रशासनले रोक लगाउन सकेको थिएन ।

सरकारले पहाडी जिल्लामा सृकय संक्रमितको संख्या दुई सय र उपत्यका लगायत शहरी जिल्लामा पाँच सय भन्दा बढि संक्रमित भए प्रमुख जिल्ला अधिकारीलाई निषेध आदेश जारी गर्ने अधिकार दिएको थियो । शनिबार बिहानसम्म काभ्रेमा सक्रिय संक्रमितको संख्या तीन सय ३८ पुगिसकेको छ भने ४७ जनाको मृत्यु भईसकेको छ ।

पुरा पढ्नुहोस्:

Facebook Comments Box