काभ्रे,रेडियो रोशी,
रोशी गाउँपालिकाको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता (प्रजनन् स्वास्थ्य सम्बन्धी समस्याहरु) सम्बन्धी निःशुल्क शिविर हुने भएको छ । रोशी गाउँपालिकाको आयोजना, सामुदायिक सेवा प्रतिष्ठान, गट्ठाघर भक्तपुर र शीर मेमोरियल एड्भेन्टिस्ट अस्पताल बनेपा काभ्रेको प्राविधिक सहयोगमा ‘महिलाहरूको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क जाँच तथा अप्रेशनको लागि छनोट शिविर’ सञ्चालन हुने भएको हो । शिविरमा सहभागी हुने महिलाहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण गराई निःशुल्क औषधि र आवश्यक परेमा निःशुल्क अप्रेसन सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच, पिसाव चुहिने रोगको पहिचान र उपचार, आङ खस्ने समस्याको प्रतिरोधात्मक उपचार, परामर्श र अप्रेसन, स्त्री रोग सम्बन्धी परीक्षण (पाठेघर जाँच) र परामर्श, पाठेघरको मुखको परीक्षण र परामर्श, पाठेघरको मुखको क्यान्सरको पूर्व पहिचान, थर्मोकोगुलेशन, फिस्टुलाको अप्रेसन, भिडियो एक्स–रे सेवा र महिला सम्बन्धी सम्पूर्ण रोगको जाँच तथा उपचारको सेवा उपलब्ध हुने छ ।
शिविर आउँदो मंसिर १ गते देखी ४ गतेसम्म गाउँपालिकाको विभिन्न स्थानमा सञ्चालन हुनेछ। मंसिर १ गते पहिलो दिन रोशी आधारभूत अस्पताल नारायणचौर (सम्पर्कः ९८४३३३२२१७), २ गते सिपाली चिलाउने स्वास्थ्य चौकि रोशी–६ (सम्पर्कः ९७६३८६३१२३), ३ गते रोशी–७ कटुन्जेबेशी स्वास्थ्य चौकि (सम्पर्कः ९८५१३३०४८३) र ४ गते रोशी–९ मंगलटार स्वास्थ्य चौकि (सम्पर्क ९८४०९०८७३३) मा बिहान १० बजेदेखी दिँउसो २ बजेसम्म शिविर सञ्चालन हुने छ । शिविरमा स्वास्थ्यको परीक्षण गराएर मौकाको फाईदा उठाउनुहुन गाउँपालिकाले सम्पुर्ण महिलाहरूमा अनुरोध गरेको छ ।










