काभ्रे,रेडियो रोशी,
रोशी गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । रोशी गाउँपालिकाको आयोजनामा कार्यक्रम सुरु भएको हो । आज रोशी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत टंक बहादुर नेगीको आतिथ्यतामा भकुञ्डेवेशीको कुटुम्ब रिसोर्टमा अभिमुखिकरण कार्यक्रमको शुभारम्भ भएको हो । कार्यक्रममा पालिका भित्र रहेका बिभिन्न स्वास्थ्य एकाईहरुमा कार्यरत २० जना स्वास्थ्यकर्मीहरु सहभागि भएका छन् ।
रोशी गाउँपालिका अन्तर्गतका स्वास्थ्य इकाईहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूको कार्यक्षमतामा वृद्धि गरी सुरक्षित मातृत्व, बाल स्वास्थ्य, र पोषण लगायतका स्वास्थ्य सेवाहरूलाई थप प्रभावकारी, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।
आजबाट सुरु भएको कार्यक्रममा पालिकाको स्वास्थ्य शाखाका अ.न.मी अन्जली लामाले आमा तथा नवजात शिशु स्वास्थ्यको बारेमा सहभागी स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गराउनुभएको छ । जसअन्तर्गत गर्भावस्था देखि सुत्केरी अवस्था पछिसम्मको निरन्तर हेरचाह, सुरक्षित सुत्केरी सेवाहरू, यो अवस्थामा खतराका लक्षणहरूको पहिचान र आपतकालीन व्यवस्थापनको पक्षहरुमा प्रस्तुतीकरण दिनुभएको थियो ।
भोलि सम्म सञ्चालन हुने कार्यक्रममा खोप तथा बाल स्वास्थ्य सेवा अन्तर्गत विस्तारित खोप आयोजना, कोल्ड चेन व्यवस्थापन, अभिलेखिकरण तथा प्रतिवेदन तयार बिषयमा अभिमुखिकरण एवं अन्तक्रिया गरिने छ । त्यस्तै सरुवा तथा नसर्ने रोगहरूको बिषयमा पनि अभिमुखिकरण एवं अन्तक्रिया गरिने छ ।
त्यस्तै परिवार नियोजन तथा पोषण कार्यक्रम अन्तर्गत परिवार नियोजनका विधिहरू, आमा, शिशु, र किशोर–किशोरी पोषण, कुपोषणको पहिचान र व्यवस्थापन, परामर्श सीपहरूको बारेमा अभिमुखिकरण एवं अन्तक्रिया गरिने बताईएको छ ।
त्यसैगरी अभिलेखिकरण तथा प्रतिवेदन कार्यक्रम अन्तर्गत रजिष्टर सञ्चालन तथा मर्मत बिधिहरु, सम्पन्न गरेका कार्यहरुको मासिक प्रतिवेदन तयार पार्ने प्रक्रियाहरु र HMIS/DHIS2 को बारेमा जानकारी प्रदान गरिने छ ।













