काभ्रे,
सरकारले दसैँमा घर जाने यात्रुहरूका लागि आजदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आज बिहानदेखि लामो तथा मध्यम दूरीको बसको टिकट खुला गरिएको बताउनुभयो । अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिद्वारा टिकट बिक्री गर्ने कार्यलाई पूर्णतया निरुत्साहित गर्ने, मुख्य सडकलाई मर्मतसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायसँग अनुरोध गरी पठाउने तथा दसैँका लागि आवश्यक सवारीसाधनको व्यवस्था यातायात व्यवसायीले गर्ने निर्णय गरिएको थियो ।
यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने निर्णय गरेको थियो । एकै पटक लाखौँ व्यक्तिले काठमाडौँ छोड्ने हुँदा यात्रुको भीड बढ्ने भएकोले विगतदेखि नै दसैँ अगाडि टिकटको अग्रिम बुकिङ खुला गरिएको हो ।