काभ्रे,
नेपाली कांग्रेसले जाजरकोट भूकम्प पीडितका लागि उद्धार, राहत तथा पुनस्थापना लागि सरकारको कोषमा ५० लाख दिने घोषणा गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल गरिएको छ । यस समयमा सरकार, राजनैतिक दलहरू, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न कांग्रेसले सबैमा आग्रह समेत गरेको छ ।
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुःखी बनाएको जनाएको छ ।