काभ्रे,
नेपालमा डेङ्गी र हैजाको सङ्क्रमण बढ्दै गएको छ । गत चार दिनमा मात्रै ७ सय २२ जनामा डेङ्गी पुष्टि भएको छ भने पाँच जिल्लाका ४७ जनामा हैजाको सङ्क्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार अहिले नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या तीन हजार ८४ जना पुगेको छ । सबैभन्दा बढी तनहुँमा पाँच सय ८३ जनामा डेङ्गी देखिएको छ । यस्तै ललितपुर, काठमाडौँ, कैलाली, प्युठान र रुपन्देहीमा हैजा फैलिएको छ ।
हैजाको सङ्क्रमणबाट बच्न पानी उमालेर वा शुद्दिकरण गरेर मात्र पिउन मन्त्रालयले आग्रह गरेको छ । डेङ्गी सङ्क्रमणबाट बच्न लामखुट्टे खोज र नष्ट गर अभियान चलाउन आग्रह गरेको छ । हाल मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण फैलिएकोे छ ।