काभ्रे,
ईलाका प्रहरी कार्यालय मंगलटारमा “नागरिक प्रहरी पुस्तकालय” सहितको बहुउदेश्यीय हल सञ्चालनमा आएको छ । पुस्तकालयको हिजो नमोवुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामाले उद्घाटन गर्नुभएको हो ।
दण्डात्मक प्रणालीले मात्रै अपराध नियन्त्रण हुँदैन, सकारात्मक सुधारको माध्यमबाट सुरक्षित समाज निर्माण गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै पुस्तकालय स्थापना गरिएको ईलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले बताउनुभयो ।

सम्भावनाको संसार देखाउने थलोको रूपमा सर्वसाधारणको समेत पहुँच पु¥याइने उक्त पुस्तकालयलाई सोहीअनुसार व्यवस्थित गरिने कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले बताउनुभयो । उहाँको अनुसार विद्यालयसँग प्रहरी कार्यक्रमअन्तर्गत विद्यार्थीलाई प्रहरी कार्यालयको गतिविधि, अध्ययनका लागि सहयोगी सामग्रीको उपलब्धतामा समेत पुस्तकालय महत्त्वपूर्ण हुने छ ।
पुस्तकालयमा कानुनको १९ खण्डका पुस्तक, नेपाली र अङ्ग्रेजी दुवै भाषाका साहित्यिक पुस्तक, धार्मिक पुस्तक, सरकारी सेवा प्रवेश पूर्वतयारीसम्बन्धी पुस्तक, नेपाल प्रहरीद्वारा प्रकाशित विभिन्न पुस्तक राखिएको छ ।
विभिन्न कारणले शान्ति सुरक्षाको प्रयोजनार्थ नियन्त्रणमा लिइएका व्यक्तिहरुलाई पुस्तकालयमा राखी सम्बन्धीत कसुर लगायतको बारेका ज्ञान दिलाई अब त्यस्तो कार्यमा सरिक नहुने गरी सकारात्मक रुपान्तरण गराउन समेत पुस्तकालय महत्वपुर्ण हुने विश्वास लिइएको छ । कार्यक्रममा नमोवुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले धारणा राखेका थिए ।
पुस्तकालय उद्घाटन कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, तेमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ लगायत विभिन्न वडाका वडा अध्यक्ष र स्थानीयको उपस्थिती रहेको थियो ।