काभ्रे,
नेपालको बाटो हुँदै आतंकवादी घुसेको भन्दै भारतको बिहारमा ‘हाईअलर्ट’ जारि गरीएको छ । नेपालको बाटो हुँदै जैश–ए–मोहम्मद समूहका तीन जना आतंकवादी भारतको बिहारमा प्रवेश गरेको भन्दै सुरक्षा व्यवस्था कडा पारीएको हो । जैश ए मोहम्मदका हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान नेपालको बाटो हुँदै भारतमा घुसेको इन्डिया टुडेको समाचारमा उल्लेख छ । आतंकवादी घुसेको भन्दै भारतको प्रहरी मुख्यालयले सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेको र गुप्तचर निकायलाई पनि परिचालन गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।
समाचारमा लेखिए अनुसार उनीहरु तीनैजना पाकिस्तानी नागरिक हुन् । उनीहरु नेपाल–भारत सीमाको कुन नाका भएर बिहार प्रवेश गरे र कहिले प्रवेश गरे भन्ने समाचारमा उल्लेख छैन । भारतको न्युज–एट्टिनको अनलाइन संस्करणमा लेखिए अनुसार उनीहरुको हुलिया र परिचयसहितको विवरण प्रहरीका सबै युनिटहरुमा पठाइएको छ र सतर्क रहन भनिएको छ । साथै स्थानीयलाई पनि कुनै गतिविधिमा शंका लागेमा नजिकको प्रहरीमा खबर गर्न आह्वान गरिएको छ ।