काभ्रे,रेडियो रोशी,
काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा स्त्री रोग सम्बन्धि ४ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोशी गाउँपालिकाको आयोजना, सामुदायिक सेवा प्रतिष्ठान, गट्ठाघर भक्तपुर र शीर मेमोरियल एड्भेन्टिस्ट अस्पताल बनेपा काभ्रेको प्राविधिक सहयोगमा मंसिर १ गतेबाट सञ्चालित ‘महिलाहरूको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क जाँच तथा अप्रेशनको लागि छनोट शिविर’ आज सम्पन्न भएको हो । गाउँपालिकाको बिभिन्न ४ स्थानमा सञ्चालित शिविरबाट ५ सय ५७ जना महिलाहरूले गाउघरमै स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
मंसिर १ गते सोमबारबाट ४ गतेसम्म रोशी गाउँपालिकाको ४ वटा वडाहरुमा शिविर सञ्चालन भएको थियो । पहिलो दिन रोशी–२ नारायणस्थानमा अवस्थित अस्थायी अस्पतालमा सञ्चालन भएको शिविरबाट २४३ जना महिलाहरूको स्वास्थ्य परिक्षण गरिएको थियो । त्यसैगरी मङ्सिर २ गते रोशी–६ सिपाली चिलाउने स्वास्थ्य चौकिमा भएको शिविरबाट १२१ जना महिलाहरूको स्वास्थ्य परिक्षण गरिएको थियो ।
मङ्सिर ३ गते रोशी–७ कटुन्जेबेशी स्वास्थ्य चौकीमा भएको शिविरबाट ५६ जना महिलाहरूको स्वास्थ्य परिक्षण गरिएको थियो । त्यसैगरी आज अन्तिम दिन मङ्सिर ४ गते रोशी–९ मंगलटार स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा १३७ जना महिलाहरूको स्वास्थ्य परिक्षण गरिएको गरिएको छ ।
गाउँपालिकाको ४ वटा वडाहरुमा सञ्चालन भएको शिविरमा १२ जनालाई शल्यक्रियाका लागि शिर मेमोरियल अस्पतालमा रिफर गरिएको छ । शल्यक्रियाका लागि पहिचान भएका उनिहरुलार्ई केहि दिनभित्रै शिर मेमोरियल अस्पतालमा निःशुल्क रुपमा अप्रेशनको ब्यवस्था मिलाईएको छ।
शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच, पिसाव चुहिने रोगको पहिचान र उपचार, आङ खस्ने समस्याको प्रतिरोधात्मक उपचार, परामर्श र अप्रेसन, स्त्री रोग सम्बन्धी परीक्षण (पाठेघर जाँच) र परामर्श, पाठेघरको मुखको परीक्षण र परामर्श, पाठेघरको मुखको क्यान्सरको पूर्व पहिचान, थर्मोकोगुलेशन, फिस्टुलाको अप्रेसन, भिडियो एक्स–रे सेवा र महिला सम्बन्धी सम्पूर्ण रोगको जाँच तथा उपचारसेवा प्रदान गरीएको थियो ।









