काभ्रे,रेडियो रोशी,
टिकटक लगायतका सामाजिक सञ्जालको प्रयोग गरी महिलालाई ब्ल्याकमेल गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ स्थायी ठेगाना भएका २३ वर्षीय समिर तामाङ रहेका छन् । ब्यूरोका अनुसार तामाङले पीडित महिलाको व्यक्तिगत फोटो तथा भिडियोहरू टिकटक लगायतका सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिँदै आर्थिक लाभ लिने गरेको खुलेको छ ।
पीडितको उजुरीका आधारमा प्राविधिक अनुसन्धान गर्दा तामाङको संलग्नता पुष्टि भएको हो । तामाङलाई वैशाख ३० गते काठमाडौंको कलंकीबाट नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ । प्रहरीले तामाङलाई काठमाडौं जिल्ला अदालतबाट सात (७) दिनको म्याद थप गरी बिधुतीय कारोबार ऐन र अपराधीक लाभ सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।













