काभ्रे,
रोशी गाउँपालिका–१२ शिखरपुरमा साङ्दोपालरी बौद्ध शिक्षा अध्ययन केन्द्र गुम्बा भवनको भूमि पुजा तथा शिलान्यास भएको छ । हिजो (शनिबार) रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यतामा गुम्बा भवनको शिलान्यास भएको हो । बागमती प्रदेशबाट गुम्बा निर्माणको लागि रोशी गाउँपालिकाले कार्यान्वयन गर्ने गरि ६५ लाख बजेट प्राप्त भएको छ । सोही बजेटबाट गुम्बा निर्माण हुन लागेको हो ।
गुम्बा भवनको शिलान्यास गर्नुहुदै अध्यक्ष लामाले आफ्नो भाषा संस्कृतिको जगेर्ना गर्ने तथा बौद्ध शिक्षा अध्ययन गर्ने अधिकार पूरा हुनेगरी अध्ययन केन्द्र बन्न लागेको बताउनुभयो । यो रोशी गाउँपालिका भित्रको गुम्बाहरूकै केन्द्रको रुपमा बिकास हुने लामाको विश्वास ब्यक्त गर्नुभयो । स्थानीय उपभोक्ताहरुकोको सहयोग र सहकार्यमा जसरी भएपनि भवन सम्पन्न गर्ने उँहाको भनाई छ ।
त्यसैगरी, विद्यालय व्यवस्थापन समिती महासंघका अध्यक्ष गुणराज मोक्तानले यहाँ लामा गुरुहरूको अभाव परिपुर्ति गर्ने उद्देश्यले बौद्ध शिक्षा अध्ययन केन्द्रसहितको गुम्बा स्थापना गर्न लागेको बताउनुभयो । गुम्बाबाट बौद्ध शिक्षा हासिल गर्न सक्ने, लामा गुफा राख्न सक्ने जस्ता काम हुने उनको भनाई छ ।
रोशी–१२ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता वसन्त कुमार स्याङ्तानले वडा कार्यालय नजिकै रहेको खुला स्थानलाई सदुपयोग गर्ने क्रममा गुम्बा निर्माण गर्ने सल्लाह भएको बताउनुभयो । एउटा सपना साकार भएको भन्दै बिशाल योजना बिस्तारै पूरा हुँदै जाने उँहाको भनाई छ ।
कार्यक्रममा रोशी गाउँपालिका शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद दाहाल, वडासदस्यहरु टुल्कु रिन्पोर्छे ङावाङ साम्तेन शेर्पा, स्थानीय समाजसेवी लगायतको सहभागिता रहेको थियो ।











