काभ्रे,
सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाट घटनामा संलग्नमध्ये ४ लुटेरा पक्राउ परेका छन । उनीहरूलाई घ्याङलेख–१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले बताउनुभयो ।
नेपाल एसबीआई बैंक घ्याङलेख–२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ । पैसा लुटेर भग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए । खोजतलासका क्रममा घटनास्थलको २–३ किलोमिटरको एरियाभित्र केही रकम फेला पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो।
पाँच÷छ जनाको समूहले उक्त बैंकबाट तीन करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए । मंगलबार राति ८ ः ४० बजेतिर ५÷६ जनाको समूहमा आएका लुटेराहरूले बैंकको गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गरी घाइते बनाई बैंकका अन्य कर्मचारीहरूलाई समेत नियन्त्रणमा लिई बैंकको रकम लुटपाट गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लुटेराहरूले काभ्रेको बनेपाबाट रिजर्भ गरी प्रयोग गरेको विएडी ०३९८ नम्बरको टाढा सुमो जीप र चालक भवत सिंह थापालाई नियन्त्रणमा लिएको छ । चालकका अनुसार केटी भगाउनु छ भनेर सुमो रिजर्भ भएको थियो । घटनाका सम्बन्धमा लुटेराहरुको खोजी र घटनाको अनुसन्धान कार्य तीव्र पारीएको छ ।














