काभ्रे,
नेपाल आयल निगमले आज शुक्रबारदेखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने निर्णय गरेको छ । निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर ९ सय ५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको हो ।
आयल निगमले नियमित रुपमा माग अनुरूप नै एलपी ग्यासको आयात तथा वितरण गरिरहेको भए पनि विगत दुई÷तीन महिनादेखि ग्यासको माग उच्च देखिएको र अहिले मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको जनाएको छ । निगमले मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अरु सिलिन्डर नभर्न, अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ ।
आधा सिलिन्डर ग्यास बाँड्दा धेरैभन्दा धेरै उपभोक्ताको पहुँचमा ग्यास पुग्ने दाबी गरिएको छ । यसका साथै आधा सिलिन्डर मात्रै वितरण गर्दा अनावश्यक रूपमा ग्यास थुपारेर राख्ने (स्टक गर्ने) प्रवृत्ति पनि घट्ने निगमको दाबी छ ।













