काभ्रे,
काभ्रको बेथानचोक गाउँपालिका र धुलिखेल स्थित काठमाण्डौ विश्वविद्यालय (केयु) बीच ग्रामीण विकासका नयाँ आयामबारे छलफल भएको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीको निमन्त्रणामा गाउँपालिका पुग्नु भएका केयुका सामुदायिक सम्बन्ध बिस्तार महाशाखा निर्देशक किशोर खनाल, विज्ञान तिमल्सिना, पालिकाका प्रवक्ता मधुसूदन तिमल्सिना र पालिका इन्जिनियर ज्ञान तिमल्सिनाको टोलीले पालिकाभित्रको विविध विकास निर्माणको स्थलगत अनुगमन गर्नुभएको हो ।
टोलीले पालिकाको वडा नम्बर १ च्याम्राङबेसीमा गर्न सकिने विकास निर्माणको सम्भाब्यता अध्ययनका बारे अवलोकन गरेको हो । अध्ययन केन्द्र स्थापना देखि पालिकाले अघि सारेको विकास निर्माण योजनाका बारेमा छलफल भएको प्रबक्ता तिमल्सिनाले बताउनुभयो । टनेल (सुरुङमार्ग), कानुन, इन्जिनियरिङ, आर्ट, व्यवस्थापन, शिक्षा, विज्ञान, कृषि, वातावरण, पर्यटन लगायतका क्षेत्रमा समन्वय गर्दै काम गर्ने अनौपचारिक सहमति भएको प्रवक्ता तिमल्सिनाले जानकारी दिनुभएको छ ।