२०७६-काभ्रे,
काभ्रे/

काभ्रे जिल्लामा विभिन्न स्थानमा दुई सय ५३ बेडको क्वारेन्टाइन कक्ष स्थापना भएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि जिल्लामा नेपाली सेनाको सहयोगमा क्वारेन्टाइन स्थापना गरिएको हो ।

जिल्लाको सदरमुकाम धुलिखेलमा सबैभन्दा बढी क्षमता भएको क्वारेन्टाइन विष्णुदल गणमा नेपाली सेनाले स्थापना गरेको छ ।

नेपाली सेनाले गणको परिसरभित्रै एक सय बेड क्षमता भएको क्वारेन्टाइन स्थापना गरेको विष्णुदल गणका गणपति सुवास खड्काले जानकारी दिए ।

विष्णुदल गणले निर्माण गरेको उक्त क्वारेन्टाइनमा नेपाल रेडक्रस काभ्रेले क्वारेन्टाइनका लागि आवश्यक सामग्री सहयोग गरेको खड्काले जानकारी दिए ।

त्यसैगरी धुलिखेल नगरपालिका र नेपाली सेना विष्णुदल गणले धुलिखेलस्थित सञ्जीवनी उच्च माविमा ५० बेडको क्वारेन्टाइन तयार गरिएको छ ।

साथै बनेपा नगरपालिका, विष्णुदल गण र नेपाल रेडक्रस काभ्रेको संयुक्त पहलमा ६५ बेडको क्वारेन्टाइन निर्माण भएको बनेपा नगरपालिकाका प्रेस संयोजक लक्ष्मण तिमल्सिनाले जानकारी दिए । बेनपास्थित नेपाल रेडक्रस तालिम केन्द्रमा क्वारेन्टाइन निर्माण गरेको तिमल्सिनाले जानकारी दिए । बनेपा पोलिटेक्निक स्कुल र अन्य स्थानमा पनि क्वारेन्टाइन निर्माण भइरहेको उनले जानकारी दिए ।

त्यसैगरी नेपाली सेनाको सहयोगमा पाँचखाल नगरपालिकाले ३० बेड र नमोबुद्ध नगरपालिकाले आठ बेडको क्वारेन्टाइनको निर्माण गरिसकेका छन् ।

-नयाँ पत्रिकाबाट

Facebook Comments