काभ्रे,
सरकारले पछिल्लो बाढी पहिरो र डुबानबाट अति प्रभावित बनेका काभ्रेको रोशी गाउँपालिका सहित ५ पालिकालाई तत्काल १ , १ करोड रुपैया राहत रकम दिने भएको छ ।
सरकारले देसैभरीका विपद् प्रभावित पालिकाहरूलाई क्षतिका आधारमा तीन वर्गमा वर्गीकरण गरी राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
यसमा काभ्रे जिल्लाका अति प्रभावित रोशी, तेमाल र बेथानचोक गाउँपालिका तथा पनौती र नमोबुद्ध नगरपालिकालाई एक एक करोड रुपैयाँ राहत दिने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
सरकारले पछिल्लो बाढी पहिरो र डुबानबाट अति प्रभावित, मध्यम प्रभावित र सामान्य प्रभावित गरी पालिकाहरुलाई तीन वर्गमा वर्गीकरण गरेको छ । जसअन्तर्गत अति प्रभावित पालिकालाई एक करोड, मध्यम प्रभावित पालिकालाई ७५ लाख र सामान्य प्रभावित पालिकालाई ५० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमार्फत उपलब्ध गराउने निर्णय गरेको हो ।
त्यसैगरी काभ्रेको मण्डनदेउपुर नगरपालिका, भुम्लु र चौँरी देउराली, खानीखोला र महाभारत गाउँपालिकाले ७५ लाख रुपैयाँ राहत पाउनेछन् भने पाँचखाल नगरपालिकाले ५० लाख पाउनेछ । जिल्लाको बनेपा र धुलिखेल नगरपालिका भने संकटग्रस्त पालिकामा परेका छैनन् ।