काभ्रे,
रोशी गाउँपालिकाको आयोजना तथा सिंगापुर रेडक्रस र प्रारम्भ नेपालको प्राविधिक सहयोगमा मंगलटारमा आज सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरमा १३५ जना नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । रोशी ९ मंगलटार, स्वास्थ्य कार्यालयमा भएको उक्त शिविरमा मुटु रोगको ३५ जनाले, हाडजोर्नी सम्बन्धि ४० जनाले, स्त्रीरोग सम्बन्धि २७ जनाले,अकुपङचर सम्बन्धि ३२ जनाले र १ जनाले धेरै रोगको निःशुल्क परीक्षण गरी सेवा प्राप्त गरेको मंगलटार स्वास्थ्यचौकीका इन्चार्ज निशा बरालले जानकारी दिनुभयो ।
उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरुद्धारा प्रसुति तथा स्त्रीरोग, मुटुरोग, जनरल फिजिसियन, अकुपन्चर, हाडजोर्नी, प्लाष्टिक सर्जरी र मनोपरामर्श लगायतका निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ । शिविर कार्यक्रममा आज रोशी गाउँपालिकाको अध्यक्षदिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईवा, प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङ, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, बरिष्ठ पत्रकार ईश्वरी ओझा, सिंगापुर रेडक्रस नेपालको प्रतिनिधि एवं प्रारम्भ नेपालका अध्यक्ष कल्पना क्षेत्री, जिल्ला स्वास्थ्य प्रमुख डा. पुरुषोत्तम सेडाई, रोशी वडा नं. ७ का वडा अध्यक्ष अशोक गौतम तथा सिंगापुर रेडक्रसको वरिष्ठ चिकित्सकहरुको उपस्थिति रहेको ईन्चार्ज निशा बरालले जानकारी दिनुभयो । भोली २९ गते सम्म पनि रहने उक्त शिविरमा अन्य रोशी वासी र आम समुदायलाई पनि उक्त सेवा लिनहुन ईन्चार्ज बरालले अनुरोध गर्नुभएको छ ।