काभ्रे,
बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री तीर्थ बहादुर लामाले सुन तस्करीमा आफ्नो कुनै संलग्न नभएको भन्दै प्रमाणित गर्न चुनौती दिनुभएको छ । राष्ट्रिय प्रसारणको एक टेलिभिजनमा अन्तर्वार्तादिँदै मन्त्री लामाले सुन तस्करी प्रकरण प्रमाणित भए आफु खुल्ला मञ्चमा झुण्डिन तयार रहेको बताउनुभयो । केहीदिन अघि विभिन्न सञ्चार माध्यमले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा बरामद सुनमा मन्त्री लामाको समेत संलग्नता रहेको आशय युक्त समाचार प्रकासन गरेका थिए । उक्त समाचार विरुद्ध मन्त्री लामाले प्रेस काउन्सिलमा उजुरी समेत दिइसक्नुभएको छ ।
‘काभ्रेका भाईहरुले गरेका रहेछन् । काभ्रेको केही केटाहरु रहेछन् । मैले उहाँहरुलाई चिन्दापनि चिन्दिन । काभ्रेका को मान्छे के गर्छ भन्ने कुरा मलाई थाहा हुने कुरा भएन् ।’ मन्त्री लामाले भन्नुभयो । ‘ विकास लामा चाँही को भन्ने प्रश्नमा मन्त्रीले भन्नुभयो ‘विकास लामा नेपाली कांग्रेस बागमती प्रदेश कार्य समिति सदस्य हो । उसले कहाँ के गर्छ भन्ने कुरा थाहा छैन् । उहाँ नेपाली काँग्रेसको कार्यकर्ता हो । ५–६ महिना अघि भेट भएको थियो । त्यसपछि मेरो भेट भएको छैन् । मैले संरक्षण गरेको छैन् ।’
मन्त्री लामाले अन्तर्वार्ताको क्रममा आफु समाजमा रहेको वेतिथीका विरुद्ध लामो समयदेखि अनवरत रुपमा लागिरहेको भन्दै सुन तस्करमा संलग्न ब्यक्तिहरु आफुले नचिनेको दाबी गर्नुभयो । ग्राण्ड डिजाइण्डका साथ आफुलाई फसाउने उद्देश्यले जिल्लाका केही पत्रकारहरुले आफ्नो नाम जर्बजस्ती यो प्रकरणमा मुछेको मन्त्री लामाको भनाई छ । सुन तस्करको अनुसन्धानको क्रममा आफु प्रमाणित भए जीवनभर काभ्रे नफर्किने मन्त्री लामाले बाचा गर्नुभएको छ । आफु प्रेस स्वतन्त्रता, लोकतन्त्र र मानवअधिकारको पक्षमा रहेको मन्त्री लामाले बताउनुभयो ।