रेडियो रोशी,
काभ्रे जिल्लाको रोशी गाउँपालिकाले एक हजार ७ सय ८० परिवारको निःशुल्क स्वास्थ्य विमा गरेको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको नेतृत्वले पहिलो निर्णय गरेअनुसार ६० बर्ष माथीका र ७० बर्ष मुनीका नागरिका परिवारलाई निःशुल्क स्वास्थ्य विमा गरीएको हो ।गाउँपालिकाका ३ हजार ७९ परिवार मध्ये दुई हजार ६ सय ४८ घरपरिवारको निःशुल्क स्वास्थ्य विमा पाएका छन् । नेपाल सरकारले ८ सय ६८ परिवारको संघीय सरकारले निःशुल्क विमा गरेका हुन् भने १ हजार ७ सय ८० परिवारको रोशी गाउँपालिकाले विमा शुल्क व्येहोरेको हो ।
रोशी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको जेष्ठ नागरिक स्वास्थ्य वीमा सम्बन्धि समिक्षा कार्यक्रम २०८० मा सो विवरण उल्लेख गरेका हुन् । स्वास्थ्य शाखाका प्रमुख गंगालाल श्रेष्ठका अनुसार रोशीको जनसंख्या अनुसार ३७ दशमलव ३१ प्रतिशत नागरिकको स्वास्थ्य विमा भएको छ । रोशीको जनसंख्या २३ हजार ७ सय ९० रहेकोमा ८ हजार ८ सय ७८ जनाको स्वास्थ्य विमा भएको उँहाले बताउनुभयो ।
एक हजार ७ सय ८० परिवारको गाउँपालिकाले निःशुल्क विमा गरिदिएको छ । ६० बर्ष माथी र ७० बर्ष मूनीको नागरिकको परिवारको गाउँपालिकाको निःशुल्क विमा गरेको हो । त्यसरी नै ७० बर्ष माथीको ८ सय १४ परिवारको नेपाल सरकारले निःशुल्क विमा गरेको छ । ५४ जना पूर्ण अपांगता भएका नागरिकहरूको पनि निःशुल्क विमा गरेको छ । ३० परिवारको महिला स्वयमसेवीकाहरूको ५० प्रतिशत सरकारले व्यहोर्ने गरी विमा गरेको छ । ४ सय १ परिवारको भने विमा शुल्क आफैले तिरेर विमा भएको छ ।
रोशीका नागरिकलाई कसरी स्थानीय सरकारको महशुस गराउने भन्ने बिषयमा छलफल गरेर निःशुल्क विमा गर्ने निर्णयका साथ अगाडी बढेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउाुभयो । ‘रोशीका नागरिकलाई स्थानीय सरकार पनि छ है भन्ने महशुस कसरी गराउने भन्ने बिषयमा प्रमुख प्रशासकीय अधिकृतसहितको छलफलमा ६० बर्ष माथीका र ७० बर्ष मुनीका नागरिकको परिवारलाई निःशुल्क स्वास्थ्य विमा गर्दा हुन्छ भनेपछि हाम्रो कार्यकालको पहिलो निर्णय गरेका हौँ ।’ गाउँपालिका अध्यक्ष दिनेश लामाले भन्नुभयो, ‘नागरिकहरूले सेवा पाएर खुसी भएको सुन्दा आनन्द आउँछ । हामीले त्यतिखेर राम्रै निर्णय गरेछौँ भन्ने लाग्छ ।’
तत्कालिन समयमा जेष्ठ नागरिकको तथ्यांक अनुसार एक करोड अनुमानित गरेकोमा आर्थिक बर्ष २०७९÷८० मा ८० लाख बजेट छुट्याएकोमा ६२ लाख ५४ हजार एक सय खर्च गर्न सफल भएको लामाले बताउनुभयो । रोशीका नागरिकले पैसाको अभावमा स्वास्थ्य उपचारबाछ बन्चीत नहोस भन्ने हेतुले पनि यस्तो कार्यको शुरुवात गरेको उँहाले बताउनुभयो ।
सामाजिक न्यायको क्षेत्रमा नेपाल सरकारले ७० बर्ष माथीका नागरिकको निःशुल्क स्वास्थ्य विमा गरेकोमा ६० बर्ष माथीको निःशुल्क स्वास्थ्य विमा गाउँपालिकाले गरेको गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले बताउनुभयो । जतिसक्दो रोशीको जनताले गुनासो नगर्ने गरी काम गर्न कर्मचारीहरूलाई उपाध्यक्ष वाईबाले निर्देशन दिनुभयो ।
स्वास्थ्य विमाको क्षेत्रमा रोशी गाउँपालिकाले नमूना काम गरेको स्वास्थ्य विमा बोर्ड काभ्रे संयोजक मुना निरौलाले बताउनुभएको छ । रोशीबाट अन्य स्थानीय तहले पनि सिक्नुपर्ने उँहाको भनाई छ ।