कभ्रे,
राष्ट्रिय फुटबल टिमका स्टार फुटबलर विमल घर्ती मगर पनि सुरक्षित भविष्यको खोजीमा विदेश पलायन भएका छन् । राष्ट्रिय फुटबल टिमका स्टार फुटबलर समेत रहेका बिमलको विदेश पलायनले खेल क्षेत्रलाई स्तब्ध बनाएको छ । उमेर समूह हुँदै राष्ट्रिय टिमसम्म आईपुगेका बिमल पछिल्लो पुस्ताको नेपाली फुटबलका उत्कृष्ट फरवार्ड मानिन्छन् । युवा अवस्थामै प्राप्त स्टारडमले उनलाई पछिल्लो एक दशक नेपाली फुटबलको लोकप्रिय फुटबलर बनाएको थियो । उनकै नेतृत्वमा नेपालले यू–१९ साफ च्याम्पियनसिप जित्दै अन्तराष्ट्रिय फुटबलमा उपाधिको ढोका खोलेको थियो ।
उनले नेपालका लागि यू–१९ साफ च्याम्पियनसिप सहित साग गेम्स, बंगबन्धु कप, एएफसी सोलिडारिटी सहित विभिन्न उपाधि जितिसकेका छन् । उनले नेपालको घरेलु फुटबलमा थ्री स्टारबाट भारतको बार्दोलोइ ट्रफीदेखि मछिन्द्र फुटबल क्लबबाट दुई पटक लिग उपाधि जितेका छन् । करियरको उच्च फर्ममा रहने उमेरमा उनले विदेशीने निर्णय लिदाँ सबैभन्दा घाटा नेपाली फुटबललाई परेको छ ।
पछिल्लो समय नेपाली फुटबलरमा विदेशी क्रम बढेको छ । सुरक्षित भविष्यको खोजीमा अधिककांश फुटबलर विशेष गरेर अष्ट्रेलियालाई नयाँ गन्तब्य बनाएका छन् । घरेलु फुटबलको संरचना गतिलो र बलियो नहुँदा वर्षभरी खेल्न नपाउने पिडा खेलाडीसँग छ । सोही कारण सुरक्षित भविष्य र राम्रो आम्दानीको खोजीमा फुटबलरहरु विदेश पलायन हुने क्रम बढेको छ ।